सार्वजनिक संस्थानको सेवा प्रवाह पूर्ण रूपमा डिजिटल प्रणालीमा

सरकारले सार्वजनिक संस्थानहरूको सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधि–आधारित बनाउने तयारी थालेको छ । अर्थ मन्त्रालयले ‘सार्वजनिक संस्थान व्यवस्थापन तथा सुशासन नीति २०८२’ ल्याउँदै सार्वजनिक संस्थानको व्यवस्थापन, सुशासन र सेवा प्रवाहमा आमूल सुधारका लागि नयाँ योजना अघि सारेको हो ।

नीतिअनुसार अब हरेक सार्वजनिक संस्थानले प्रदान गर्ने वस्तु तथा सेवाको विस्तृत विवरण विद्युतीय माध्यमबाट सार्वजनिक रूपमा उपलब्ध गराउनेछ । आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित हुनेछ । साथै, डिजिटल प्रणालीको नियमित परीक्षण र सुधार अनिवार्य गरिनेछ ।

विद्युतीय बैंकिङ तथा वित्तीय कारोबार सुरक्षित बनाउन विशेष व्यवस्था मिलाइनेछ भने नेपाल सरकारको शेयर स्वामित्व सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिकीकरण गरिने नीति पनि समावेश गरिएको छ ।

साथै, सार्वजनिक संस्थानद्वारा प्रदान गरिने वस्तु तथा सेवाको लागत र गुणस्तरलाई प्रतिस्पर्धी बनाउन, आवश्यकता परे तेस्रो पक्षलाई संलग्न गर्ने र सेवा प्रवाहका क्रममा ग्राहकको गुनासो सात दिनभित्र समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक पारदर्शिता र जवाफदेहिताका लागि क्षतिपूर्तिको प्रणाली पनि क्रमशः लागू गरिनेछ । संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाइने नीति पनि लिइएको छ ।

अर्थ मन्त्रालयका अनुसार नयाँ नीतिले सार्वजनिक संस्थानहरूको वार्षिक लक्ष्य निर्धारण, कार्यसम्पादन मूल्याङ्कन र सञ्चालक समितिको निगरानी क्षमतालाई सुदृढ गर्ने प्रणाली विकास गर्नेछ । साथै, ‘सार्वजनिक संस्थान व्यवस्थापन सूचना प्रणाली’ स्थापना गरेर नियमित अनुगमन र मूल्याङ्कनका लागि एकीकृत तथ्याङ्क उपलब्ध गराइनेछ ।

हाल नेपालमा ४३ सार्वजनिक संस्थान सञ्चालनमा छन् । तीमध्ये २८ नाफामा र १५ घाटामा रहेका छन् । आर्थिक वर्ष ०८०/८१ को विवरणअनुसार संस्थानहरूको समग्र नाफा अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले घटेको र खुद नोक्सानी ८.६५ प्रतिशतले घटेको देखिएको छ ।

संस्थानहरूको वित्तीय अवस्था सुधार गर्न कोष व्यवस्थापन, दायित्व घटाउने र कुल दायित्व ५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । साथै, प्रशासनिक खर्च कुल खर्चको २० प्रतिशतभन्दा बढी नहुने र कर्मचारीको निवृत्तिभरण प्रणालीलाई योगदानमा आधारित बनाउने नीति पनि अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?