सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएकाे छ । तर प्रहरीले कसरी ल्याउने भन्ने विषयमा अझै निचोडमा पुगेको छैन ।
कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।
पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएकोले मङ्गलवार अदालत पेश गरेर ल्याउने तयारीमा प्रहरी छ तर रुपन्देहीमा छठमा भिडभाड हुने भएकाले पोखरामै म्याद थप भए २२ गते पछि पनि ल्याउन सकिने गरी रुपन्देही प्रहरीको तयारी छ ।
रास्वपाले भने प्रहरीले मङ्गलवार नै लामिछानेलाई रुपन्देही लैजान सक्ने भएकाले सोही अनुसार रुपन्देहीमा वकिलहरूको तयारी गरिसकेका छन् । रुपन्देहीमा उनको तर्फबाट अधिवक्ता गोविन्द मरासिनीसहितका ३ वकिललाई जिम्मेवारी दिने गरी तयारी भएको रास्वपा स्रोतले जनाएको छ ।
प्रहरीले रुपन्देही जिल्ला अदालतबाट कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति दिइसकेको छ । तर अदालतबाट प्रहरीलाई पुगेको गोप्य पत्र सार्वजनिक भएको भन्दै रुपन्देही प्रहरी असन्तुष्ट छ ।

