२०३५ सम्ममा २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितो रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना कार्यान्वयनमा वन, वातावरण र जग्गा प्राप्तिसँग जोडिएका समस्याको पहिचान गरी समाधानका उपायमाथि विमर्श गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ्ने स्थिति अन्त्य गर्न निर्देशन दिएका छन् । उनले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत् व्यापारमा विविधीकरण गदै बङ्गलादेशमा विजुली निर्यात गर्न भारतको डेडिकेटेड ट्रान्समिटर लाइन बनाउने र बंगलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह पनि गरे ।

उनले आयोजनाका मुआब्जा र प्रसारण लाइनका विवाद मिलाउन तथा नेपाल विद्युत प्राधिकरणलाई औचित्यता र कार्यक्षेत्रका आधारमा व्यवस्थितरुपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘यस क्षेत्रमा भइरहेको अनियमितता र चलखेललाई राज्यले देखेर पनि कारबाही गर्न नसक्ने स्थिति हुनु हुँदैन । शक्तिवालाले के भन्छ भनेर हाम्रो संयन्त्र चल्ने होइन । शक्ति र बलका आधारमा होइन, नियम, काुनन, समयको माग र मुलुकको आवश्यकतामा चल्नुपर्छ । हामीले हाइड्रो इलेक्ट्रिकमा पनि जाने गरी लाग्नुपर्छ ।’आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराई खपत र निर्यात गरी मुलुकलाई वार्षिक रु दुई दशमलव ६५ खर्ब आय हुने कार्ययोजनाको लक्ष्य रहेको छ ।

यसले आठ लाख ६५ हजार एक सय १८ को संख्यामा रोजगारी सृजना हुनेपनि प्रक्षेपण गरिएको छ । कार्ययोजना कार्यान्वयनका क्रममा उत्पादन, प्रसारणलाइन र वितरणका लागि करिब ४६ दशमलव ५ अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । हाल मुलुकको विद्युत क्षमता तीन हजार दुई सय ४३ मेगावाट रहेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा २०७२ फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना स्वीकृत भइ कार्यान्वयनको आएको थियो । सोही कार्ययोजनाको जगमा विसं. २०७५ जेठ १ गतेदेखि मुलुक लोडसेडिङमुक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?