दुध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

म्याग्दी बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन् । गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो ।

घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उनले बताए । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् ।

‘गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दूध खरिद गर्ने भएपछि थोरै–धेरै जति दूध पनि बिक्री गर्न पाउने सुविधा भएको छ’किसान थापाले भने । बेनी – ४ सिङगामा रहेको यस सहकारीले विसं २०७५ देखि किसानको दूध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ ।

ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन् ।

सहकारीमा अहिले दैनिक दुई सय ५० लिटर बढी दूध सङ्कलन हुने गरेको सहकारीका प्रबन्धक दीपक शर्माले जानकारी दिए। किसानबाट सङ्कलन भएको दूधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा बिक्री गर्दै आएको प्रबन्धक शर्माले बताए ।

सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दूध बिक्रीका लागि सहकारीमा खाता खोलेकोमध्ये अहिले ३५ जनाले नियमित रुपमा दूध बिक्री गर्दै आएका छन् ।

उत्पादन भएको दूध घरदैलोमै बिक्री हुने भएपछि यस क्षेत्रका स्थानीय दूधबाट आत्मनिर्भर बन्न थालेका छन् । चार सयजना शेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब रु नौ लाखको दूध बिक्री गर्दै आएको छ ।

हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?