काठमाडौं । ग्लोबल आईएमई बैंक यस्तो बैंक हो, जसले अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद पनि निरन्तर लाभांश वितरण गरिरहेको छ ।
पछिल्ला केही वर्षयता अधिकांश बैंकको लाभांश क्षमता कमजोर भएको छ । कतिपयको लाभांश वितरण गर्ने क्षमता पनि छैन । तर, ग्लोबल आइएमईले निरन्तर लाभांश वितरण गर्दै आएको क्रमलाई निरन्तरता दिँदै यसपाली पनि १० प्रतिशत लाभांश दिन लागेको छ ।
२० औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश पठाइनेछ ।
नेपालको वित्तीय क्षेत्रमा अग्रणी संस्था ग्लोबल आइएमई बैंकले आफ्नो व्यावसायिक यात्रा सुरू गरेको दुई दशक भइसकेको छ । विगत दुई दशकको अवधिमा बैंकले आफूलाई केवल नाफामुखी संस्थाको रूपमा मात्र नभई नेपाली अर्थतन्त्रको बलियो खम्बा र वित्तीय रूपान्तरणको संवाहकका रूपमा स्थापित गरेको छ ।
तीव्र बजार विस्तार, रणनीतिक मर्जर तथा प्राप्ति, ठूलो शाखा सञ्जाल, डिजिटल प्रविधिमा समयसापेक्ष लगानी र उत्तरदायी बैंकिङ अभ्यासका कारण बैंकले छोटो अवधिमै वित्तीय आकार र जनविश्वास दुवै दृष्टिले ठूलो सफलता प्राप्त गरेको छ ।
नाफा र वित्तीय आकारमा नयाँ उचाइ
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकको समग्र वित्तीय सूचकहरू बैंकले बैंकिङ उद्योगमा शीर्षमध्ये एक बनेको छ । बैंकले ६ अर्ब ३ करोड ६० लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतको वृद्धि हो । चुनौतीपूर्ण आर्थिक परिस्थिति र कर्जा असुलीमा देखिएका सामान्य अवरोधका बाबजुद बैंकले नाफामा दोहोरो अंकको वृद्धि कायम राख्नुले यसको कुशल व्यवस्थापन र जोखिम नियन्त्रण क्षमतालाई देखाएको छ ।
बैंक पुँजीगत आधार, निक्षेप संकलन तथा कर्जा परिचालनमा पनि बलियो अवस्थामा रहेको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप २१.८० प्रतिशतले वृद्धि भई ७ खर्ब ४४ करोडसहित बैंकिङ क्षेत्रकै अग्रस्थानमा छ । त्यस्तै, कर्जा लगानी ८.२२ प्रतिशतले विस्तार भई ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख पुगेको छ । जसले बैंकलाई नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बलियो पुँजीगत आधार भएको संस्थाका रूपमा स्थापित गरेको छ । अन्य बैंकहरू प्राथमिक पुँजीकोषको दबाबका कारण पुँजी बढाउन अन्य विकल्पहरूको खोजीमा लाग्दा ग्लोबल आइएमई बैंकलाई भने पुँजीकोषको कुनै दबाब देखिँदैन ।
बैंकले आधुनिक बैंकिङ सेवालाई देशका कुनाकाप्चासम्म पुर्याउने उद्देश्यसहित आफ्नो भौतिक तथा डिजिटल सञ्जाललाई देशभर विस्तार गरेको छ । हाल देशभर बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटीएम बुथ, १४१ शाखारहित बैंकिङ केन्द्र, ६९ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् । यसका अतिरिक्त प्रवासमा रहेका नेपालीहरूलाई औपचारिक माध्यमबाट विप्रेषण पठाउन तथा सहजीकरण गर्न विदेशमा ३ वटा प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा रहेका छन् ।
देशभरका विभिन्न सेवा माध्यममार्फत १ हजारभन्दा बढी सेवा केन्द्रबाट बैंकले दैनिक लाखौँ ग्राहकलाई सहज, सरल र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । दुर्गम भेगका नागरिकलाई शाखारहित बैंकिङमार्फत वित्तीय प्रणालीमा जोड्नेदेखि सरकारी राजस्व संकलनमा सघाउ पुर्याउनेसम्मका कार्यमा बैंकको भूमिका उल्लेखनीय रहँदै आएको छ ।
हरित वित्त र दिगो बैंकिङ, भावी यात्राको मूल मार्गचित्र
परम्परागत बैंकिङ कारोबारमा मात्र सीमित नरही ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र हरित वित्तपोषण (ग्रिन फाइनान्सिङ)लाई आफ्नो दीर्घकालीन व्यावसायिक रणनीतिको केन्द्रबिन्दु बनाएको छ । जलवायु परिवर्तनले विश्वभर निम्त्याएको संकट र त्यसले अर्थतन्त्रमा पारेको जोखिमलाई दृष्टिगत गर्दै बैंकले आफ्नो समग्र कर्जा प्रवाहलाई वातावरणमैत्री बनाउने नीति अंगीकार गरेको हो ।
यस नीतिलाई नीतिगत र संस्थागत रूपमै व्यवस्थित गर्न बैंकले उच्चस्तरीय ‘दिगो बैंकिङ समिति’ गठन गरी कार्यान्वयनमा ल्याइसकेको छ । बैंकले संस्थागत तहबाटै वातावरणीय, सामाजिक तथा सुशासन सम्बन्धी मापदण्डलाई व्यवसायसँग आबद्ध गर्ने औपचारिक प्रतिबद्धतासहित बैंकले ‘सस्टेनेबिलिटी स्टेटमेन्ट’ समेत जारी गरेको छ । बैंकले हरित वित्तलाई परोपकारी कामको रूपमा मात्र नहेरी दीर्घकालीन व्यावसायिक अवसर र कर्जा जोखिम व्यवस्थापनको उपायका रूपमा ग्रहण गरेको छ ।
लक्षित वर्ग अनुसार नवीन वित्तीय प्रोडक्ट
बैंकले हरित अर्थतन्त्र निर्माणका लागि लक्षित वर्ग अनुसार विभिन्न नवीन वित्तीय प्रोडक्टहरू बजारमा ल्याएको छ ।
सहरीकरणको तीव्र वृद्धिसँगै आवास क्षेत्रमा ऊर्जा, पानी र वातावरणीय चाप बढ्दै गएको अवस्थालाई सम्बोधन गर्न बैंकले ‘ग्लोबल ग्रिन होम लोन’ सञ्चालनमा ल्याएको छ । यो कर्जा घर खरिद वा निर्माणका लागि मात्रै नभएर घरलाई वातावरणीय दृष्टिले आत्मनिर्भर र पर्यावरणमैत्री बनाउने अवधारणामा आधारित छ । यस कर्जाअन्तर्गत प्राकृतिक प्रकाश र हावाको उचित सञ्चार हुने वास्तुकला, स्थानीय तथा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोग, आकाशे पानी संकलन तथा जमिन रिचार्ज प्रणाली (रेनवाटर हार्भेस्टिङ), घरमै निस्कने फोहोर पानीको प्रशोधन तथा पुनःप्रयोग संरचना, र घरको छतमा सौर्य ऊर्जा प्रणाली (रूफटप सोलार) जडान गर्ने आवास परियोजनाहरूलाई प्राथमिकतामा राख्दै वित्तीय सुविधा दिने बैंकले जनाएको छ ।
बैंकले यस कर्जामा लामो भुक्तानी अवधि, प्रतिस्पर्धी ब्याजदर र कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्दै घरधनीहरूलाई हरित जीवनशैली अपनाउन उत्प्रेरित गरेको छ । यस्तो घर निर्माण गर्दा सुरुवाती लागत केही बढी देखिए पनि दीर्घकालमा बिजुली र पानीको महसुलमा भारी बचत हुने र घरको वातावरणीय मूल्य वृद्धि हुने भएकाले उपभोक्ताका लागि यो दोहोरो फाइदाजनक साबित हुने दाबी बैंकको छ । यसले सहरी क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न र कार्बन-तटस्थ समाज निर्माण गर्न दूरगामी योगदान पुर्याएको बैंकले जनाएको छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रलाई जलवायु परिवर्तनका असरबाट जोगाउन र उत्पादन बढाउन बैंकले ‘क्लाइमेट-स्मार्ट एग्रिकल्चर लोन’ प्रवाह गरिरहेको छ । यसअन्तर्गत थोपा सिँचाइ, सौर्य सिँचाइ तथा जैविक कृषि प्रणालीमा आधारित परियोजनाहरूलाई वित्तीय स्रोत सुनिश्चित गरिएको छ । त्यसैगरी, साना तथा मझौला उद्योगहरूलाई प्रदूषणमुक्त प्रविधि अवलम्बन गर्न र स्रोतसाधनको उच्चतम सदुपयोग गर्ने हरित व्यवसायमा रूपान्तरण गर्न ‘ग्रिन एसएमई लोन’ जस्ता योजनाहरू ल्याएको छ ।
नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय गतिशीलता (ई-मोबिलिटी) लाई प्रोत्साहन गर्दै ग्लोबल आइएमई बैंकले अघि सारेको ‘ग्रिन ड्राइभ’ कर्जा योजना अत्यन्त प्रभावकारी भएको बैंकको दाबी छ । पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनका कारण सहरी क्षेत्रमा वायु प्रदूषण बढ्नुका साथै आयातित इन्धनमा अर्बौँ रुपैयाँ बाहिरिइरहेको सन्दर्भमा यो कर्जा योजनाले विद्युतीय सवारी खरिदलाई सर्वसुलभ बनाएको छ । यस योजनाअन्तर्गत व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ब्याट्रीबाट सञ्चालन हुने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधन खरिद गर्न सहज कर्जा उपलब्ध गराइन्छ । नेपाल राष्ट्र बैंकको नीतिअनुसार इन्धनबाट चल्ने सवारीमा ५० प्रतिशतसम्म मात्र कर्जा पाउने व्यवस्था रहेकामा विद्युतीय सवारीका हकमा ८० प्रतिशतसम्मको उच्च कर्जा-धितो अनुपात (एलटीभी रेसियो) प्रदान हुन्छ ।
‘ग्रिन ड्राइभ’ योजनामा बैंकले परम्परागत अटो लोनको तुलनामा आकर्षक र सहुलियतपूर्ण ब्याजदर प्रिमियम, सेवा शुल्कमा विशेष छुट, द्रुत कर्जा प्रक्रिया र बढी भुक्तानी अवधिको सुविधा दिएको छ । सार्वजनिक तथा व्यावसायिक यातायातलाई विद्युतीकरण गर्न र आवश्यक चार्जिङ पूर्वाधार विस्तारमा समेत यस कर्जाले वित्तीय ढाडस प्रदान गरी मुलुकको समग्र कार्बन उत्सर्जन घटाउन प्रत्यक्ष भूमिका निर्वाह गरेको दाबी बैंकको छ ।
नेपालको अर्थतन्त्रको आधारस्तम्भ मानिने साना तथा मझौला उद्यमहरूलाई वातावरणीय दृष्टिले दिगो र ऊर्जा-दक्ष बनाउने उद्देश्यले बैंकले ‘ग्लोबल ग्रिन एसएमई लोन’ कार्यान्वयनमा ल्याएको छ । परम्परागत उद्योगधन्दाहरूले स्रोतसाधनको अत्यधिक दोहन र प्रदूषण निम्त्याउने जोखिमलाई कम गर्न यस कर्जामार्फत उद्यमहरूलाई हरित प्रविधि अपनाउन प्रेरित गरिने बैंकले जनाएको छ । यसअन्तर्गत उद्योग तथा व्यवसायहरूलाई फोहोरमैला व्यवस्थापन, औद्योगिक फोहोर पानी प्रशोधन तथा पुनःप्रयोग (एफ्लुएन्ट ट्रिटमेन्ट), ऊर्जा बचत गर्ने आधुनिक यन्त्र-उपकरणको खरिद, तथा परम्परागत ऊर्जाको सट्टा जैविक, सौर्य वा जलविद्युत् प्रणाली जडान गर्न आवश्यक चालु पुँजी तथा आवधिक कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
यस कर्जाको प्रमुख विशेषता उद्यमीहरूका लागि सहज धितो व्यवस्थापन, तुलनात्मक रूपमा कम ब्याजदर, प्राविधिक मूल्यांकनमा बैंकको सहजीकरण र न्यूनतम प्रशासनिक शुल्क रहेको छ । अर्गानिक कृषि फार्म, दिगो पर्यटन तथा पर्या-पर्यटन पूर्वाधार, रिसाइक्लिङ उद्योग र प्लास्टिकको विकल्प उत्पादन गर्ने नवीन उद्यमहरूलाई यस कर्जाले प्राथमिकतामा राखेको जनाएको छ । यस वित्तीय सुविधाले साना उद्योगहरूको सञ्चालन लागत घटाउन, वातावरणीय मापदण्डहरूको सहज परिपालना गर्न र विश्व बजारमा ‘इको-फ्रेन्डली’ ब्रान्डका रूपमा स्थापित हुन सहयोग पुर्याएको छ । यसले गर्दा आर्थिक रूपमा नाफामूलक र वातावरणीय रूपमा सन्तुलित उद्यमशीलताको नयाँ आधार तयार भएको छ ।
विश्वव्यापी मापदण्ड, कार्बन मापन र उत्तरदायित्व
ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बैंकिङ साखलाई उच्च बनाउने विभिन्न सहकार्य समेत गरेको छ । बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ मा औपचारिक रूपमा आबद्ध भएको छ । यस साझेदारीमार्फत बैंकले आफ्ना वित्तीय लगानी र परियोजनाहरूबाट उत्सर्जन हुने कार्बन फुटप्रिन्ट वैज्ञानिक विधिबाट मापन तथा व्यवस्थापन गर्ने काम थालेको छ । आफ्ना वित्तीय लगानीले वातावरणमा पारेको प्रभावबारे पारदर्शिता कायम गर्न बैंकले नियमित रूपमा ‘कार्बन डिस्क्लोजर रिपोर्ट’ समेत सार्वजनिक गर्ने नयाँ अभ्यास सुरु गरेको छ ।
बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विपन्न तथा सीमान्तकृत वर्गलाई औपचारिक वित्तीय प्रणालीमा समाहित गर्ने वित्तीय समावेशीकरणको अभियानलाई दिगो विकास लक्ष्यसँग जोडेर अघि बढाएको छ । यसले सामाजिक असमानता न्यूनीकरण गर्न र गरिबी निवारणमा ठोस योगदान पुर्याइरहेको दाबी बैंकको छ ।
‘ग्रिन बन्ड’ र ‘सस्टेनेबिलिटी बन्ड’ मार्फत स्रोत परिचालन गर्ने
आगामी दिनमा बैंकले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरबाट पुँजी जुटाउन नवीन वित्तीय उपकरणहरू प्रयोगमा ल्याउने योजना बनाएको छ । दिगो र वातावरणमैत्री ठूला पूर्वाधार परियोजनाहरूमा वित्तीय स्रोतको अभाव हुन नदिन बैंकले ‘ब्लेन्डेड फाइनान्स’ (मिश्रित वित्त) को अवधारणालाई प्राथमिकता दिने बताएको छ ।
यसका साथै निकट भविष्यमै बैंकले ‘ग्रिन बन्ड’, ‘सस्टेनेबिलिटी बन्ड’ तथा अन्तर्राष्ट्रिय ‘क्लाइमेट फन्ड’ (जलवायु कोष) हरूबाट स्रोत परिचालन गरी नेपालमा नवीकरणीय ऊर्जा, विद्युतीय यातायात, दिगो वन व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा लगानी बढाउने योजना बनाएको जनाएको छ ।
स्थापनाको दुई दशकमा ग्लोबल आइएमई बैंक एकातिर आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल देखिएको छ भने अर्कोतिर नाफा, सञ्जाल विस्तार, प्रविधिमैत्री सेवा र वातावरणीय जिम्मेवारीलाई सन्तुलित रूपमा अगाडि बढाउँदै नेपाली वित्तीय बजारमा दिगो बैंकिङको स्पष्ट दिशानिर्देश गर्न सफल भएको छ ।

