
- रसुवा बाढीले सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।
- क्षतिग्रस्त संरचनालाई सुरक्षित र आधुनिक प्रविधियुक्त बनाउन ५० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
- भविष्यमा आउन सक्ने ठूला विपद् थेग्न मिल्ने गरी नयाँ प्रविधि र डिजाइनमा पुनर्निर्माण गरिनेछ।
रसुवा बाढीका कारण सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सडक विभागले प्रारम्भिक अनुमान गरेको छ।
क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचनालाई थप सुरक्षित र आधुनिक प्रविधिसहित पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार प्रारम्भिक अध्ययनमा सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको क्षति देखिएको हो।
यसअघि विभागले करिब २० अर्ब रुपैयाँको क्षति अनुमान गरे पनि कृष्णभीर र त्रिशूली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब ३० अर्ब रुपैयाँमा आएको उनले बताए।
तर क्षतिग्रस्त संरचना पहिलेकै अवस्थामा मात्र पुनर्निर्माण नगरी भविष्यमा आउन सक्ने ठूला विपद्लाई समेत थेग्ने गरी निर्माण गर्नुपर्ने भएकाले पुनर्निर्माण लागत बढ्ने जैसीको भनाइ छ।
‘बिल्ड ब्याक बेटर’को अवधारणा अनुसार नयाँ प्रविधि प्रयोग गर्ने, सडकको लेभल माथि उठाउने र ठूला तथा लामा पुल निर्माण गर्नुपर्ने भएकाले सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्न सक्ने उनले बताए।
राष्ट्रिय योजना आयोगअन्तर्गतका टोलीसहित विभागका प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेका छन्। ती टोलीले करिब एक साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जैसीले बताए।
रसुवामा आएको बाढीलाई सामान्य प्रकृतिको बाढीका रूपमा रहेको थिएन। जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीको छाल करिब १०० मिटरसम्म माथि पुगेको र पानीको बहावको गति करिब ५२ मिटर प्रतिसेकेन्डसम्म रहेको तथ्यांक आफूले हेरेको बताए।
उनका अनुसार सडक विभागले पुल निर्माण गर्दा प्रचलित डिजाइन कोडअनुसार सामान्यतः १०० वर्षको रिटर्न पिरियडलाई आधार मान्दै करिब दुई मिटर फ्रिबोर्ड राख्ने गरेको छ। तर पछिल्लो बाढी अत्यन्त असामान्य र ठूलो परिमाणको भएकाले त्यस तहको विपद् थेग्ने गरी पुल डिजाइन नगरिएको उनले स्पष्ट पारे।
‘हामीले पानी थेग्ने पुल बनाएका थियौँ, अब डेब्रिज ९लेदो तथा फोहोर० समेत थेग्ने गरी संरचना निर्माण गर्नुपर्ने अवस्था आएको छ,’ जैसीले भने।
बाढीका कारण एउटा पुल बगेर त्यसैको संरचना तलतिर बग्दै अर्को पुलको पिलरमा ठोक्किनेसम्मको अवस्था देखिएको उनले बताए। यस्तो घटनाको कल्पना विद्यमान डिजाइन कोडमा नगरिएको उनको भनाइ छ।

