भारतले खाने तेलको आयातमा लाग्ने भन्सार फेरि घटाएको छ। यसले नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने भएपछि नेपाली व्यवसायी चिन्तित भएका छन्।
भारतले २३ सेप्टेम्बरमा नयाँ भन्सार दरसम्बन्धी सूचना जारी गरेको हो। नयाँ दर २४ सेप्टेम्बरदेखि लागू भएको छ।
भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार १० बाट ५ प्रतिशतमा झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार १० प्रतिशतबाट शून्यमा झारेको छ।
कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब १६.५ बाट ११ प्रतिशतमा आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क १६.५ बाट ५.५ प्रतिशतमा झरेको छ।
त्यस्तै, पाम र भटमासको तेलको आधारभूत भन्सार ३२.५ बाट २७.५ प्रतिशतमा झारिएको छ। सूर्यमुखी तेलको भन्सार ३२.५ बाट २२.५ प्रतिशतमा आएको छ।
भारत सरकारले कच्चा तेल र खाने तेलबीच १९.२५ प्रतिशतको शुल्क अन्तर कायम राखेको जनाएको छ।
भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो।
पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब २० प्रतिशत बढेको थियो। सेप्टेम्बरदेखि नोभेम्बरसम्म भारतमा चाडपर्वका कारण खाने तेलको माग बढ्छ। त्यसैले आपूर्ति सहज बनाउन र मूल्य नियन्त्रण गर्न भन्सार घटाइएको भारतले जनाएको छ।
भारतले आफ्नो खाने तेलको मागको ठूलो हिस्सा आयातबाट पूरा गर्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा भारतीय बजारमा पनि त्यसको असर पर्छ। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्यवृद्धिको दबाब घटाउने भारत सरकारको उद्देश्य देखिन्छ।
तर यही नीतिले नेपालका लागि अर्को प्रभाव पार्ने देखिएको छ।
नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ।
भारतमा अन्य देशबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब ११ प्रतिशत छ। सूर्यमुखीमा ५.५ प्रतिशत मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने शून्य भन्सार सुविधा छ।
त्यसैले नेपालबाट निर्यात गर्दा रहेको भन्सार लाभ अझै कायम छ। तर भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ।
यही कारण नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभमा दबाब पर्ने व्यवसायीहरू बताउँछन्।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट करिब ७६ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। यसमध्ये ४० अर्ब रूपैयाँभन्दा बढी खाने तेलको मात्रै निर्यात भएको छ। यो कुल निर्यातको करिब ५३ प्रतिशत हो।
खाने तेल निर्यातमध्ये करिब ३६ अर्ब रूपैयाँको भटमासको तेल मात्रै रहेको छ। त्यसैले भारतको भन्सार नीतिमा आएको परिवर्तनले नेपालको समग्र निर्यातमा समेत प्रभाव पार्न सक्ने व्यवसायीहरूको भनाइ छ।
‘भारतले तेस्रो मुलुकबाट आयात हुने तेलको भन्सार घटाउँदा नेपालले पाइरहेको भन्सार अन्तर घट्छ। यसले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर पार्न सक्छ,’ एक तेल उद्योगीले भने।
उनका अनुसार नेपालबाट भारतमा तेल निर्यात हुनुको मुख्य आधार अन्य देशको तुलनामा हुने भन्सार अन्तर हो। त्यो अन्तर कम हुँदै गए नेपालमा प्रशोधन गरेर भारत पठाउने व्यापारको आकर्षण पनि घट्न सक्छ।
‘अहिले पनि नेपालबाट भारतमा निर्यात गर्दा शून्य भन्सारको सुविधा छ। तर भारतले अन्य देशलाई पनि कम दरमा तेल ल्याउने बाटो खोल्दा नेपाली उद्योगको फाइदा पहिलेको जस्तो रहँदैन,’ अर्का व्यवसायीले भने।

