
- आधुनिक प्रविधि र प्रशासनिक परिवर्तनका बाबजुद नैतिकता, इमान्दारी र अनुशासन नै प्रशासनको मुख्य आधार हुनुपर्ने राष्ट्रपति पौडेलले बताएका छन्।
- विशिष्ट योगदान पुर्याएका डा. रामकृष्ण माकाजु र पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मानबाट पुरस्कृत गरिएको छ।
- प्रशासनिक प्रणाली नागरिकको जीवन सहज बनाउने माध्यम बन्नुपर्ने र सेवाग्राहीले झन्झट मुक्त अवसर पाउनुपर्नेमा पूर्वसचिव खनालले जोड दिएका छन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको तीव्र विकाससँगै समाज र सार्वजनिक प्रशासनमा नैतिकता, आचरण तथा इमान्दारीको आवश्यकता झनै बढेको बताएका छन्।
प्रविधि र क्षमता बाह्य स्रोतबाट सिकेर तथा प्रयोग गरेर हासिल गर्न सकिने भए पनि नैतिकता, आचरण र इमान्दारी व्यक्तिको आफ्नै अन्तस्करणसँग जोडिएको विषय भएको उनको भनाइ छ।
सोमबार नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित हेमबहादुर मल्ल सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन आवश्यक भए पनि त्यसको आधार नैतिक र जिम्मेवार नेतृत्व हुनुपर्नेमा जोड दिए।
‘आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीको अलिक बढी खाँचो छ,’ उनले भने।
राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण तथा नयाँ आर्थिक संरचनाका कारण प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासमा तीव्र परिवर्तन भइरहेको बताए। प्रविधि र समय परिवर्तन भए पनि इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुरानो नहुने उनले उल्लेख गरे।
उनले सार्वजनिक सेवा, प्रशासन तथा संस्थागत विकासमा योगदान पुर्याउने व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई सार्वजनिक सेवाप्रति थप जिम्मेवार र प्रेरित बनाउन सहयोग पुग्ने बताए।
माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान
समारोहमा सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ।
राष्ट्रपति पौडेलले हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मान गरेका हुन्। सम्मानसँगै दुवैलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवा र संस्थागत विकासमा योगदान पुर्याएको भन्दै डा. माकाजुलाई सम्मान गरिएको हो। त्यस्तै, सार्वजनिक प्रशासन, नीति निर्माण, प्रशासनिक सुधार तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै पूर्वसचिव खनाललाई सम्मान प्रदान गरिएको हो।
नेपाल जन–प्रशासन संघले सम्मानका लागि नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा माकाजु र खनाललाई सम्मानका लागि छनोट गरिएको संघले जनाएको छ।
‘प्रशासन फाइल र कर्मचारीको प्रक्रिया मात्र होइन’
सम्मान ग्रहण गर्दै पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताए।
उनले प्रशासनिक ढिलासुस्ती र ‘भोलि आउनुस्’ भन्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गरे। राज्यको कमजोर प्रशासन र अवसरको अभावकै कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी मुलुक तथा मलेसिया जान बाध्य भएको उनको टिप्पणी थियो।
खनालले दुर्गम क्षेत्रका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू रोजगारी तथा जीविकोपार्जनका लागि विदेशिनुमा प्रशासनिक प्रणालीको पनि कमजोरी रहेको बताए।
‘दुर्गमका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू परदेशिनुमा हाम्रो प्रशासनिक प्रणालीको पनि कमजोरी छ। जबसम्म गाउँका बालबालिका अवसरबाट वञ्चित हुन्छन् र युवाहरू जीविकोपार्जनका लागि विदेशिन बाध्य हुन्छन्, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको मान्न मिल्दैन,’ उनले भने।
उनले सार्वजनिक प्रशासनको मुख्य दायित्व संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु रहेको बताए। व्यक्तिको भविष्य जन्मस्थान वा सामाजिक परिवेशले नभई अवसरमा समान पहुँचले निर्धारण गर्नुपर्नेमा जोड दिँदै उनले राज्यले नागरिकलाई समान अवसर उपलब्ध गराउने गरी प्रशासनिक प्रणाली विकास गर्नुपर्ने बताए।
खनालका अनुसार नागरिकले राज्यबाट सेवा लिन जाँदा अनावश्यक झन्झट, ढिलाइ र प्रक्रियागत कठिनाइ व्यहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। प्रशासन नागरिकको जीवन सहज बनाउने माध्यम बन्नुपर्ने उनको भनाइ थियो।
२०६० देखि प्रदान हुँदै आएको सम्मान
हेमबहादुर मल्ल सम्मान वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा यो सम्मान स्थापना गरिएको हो।
नेपाल जन–प्रशासन संघका अनुसार यसअघि विभिन्न क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिसकिएको छ। सार्वजनिक प्रशासन र व्यवस्थापनका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको यो पुरस्कारले सेवा क्षेत्रका अनुभवी तथा योगदानकर्ता व्यक्तित्वको कामलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्य राखेको संघले जनाएको छ।

