टेलिकम कम्पनीको नवीकरणमा २० अर्ब रुपैयाँ शुल्क लिने व्यवस्था परिवर्तन

समाचार सारांश
Auto Generated by AI
  • सरकारले टेलिकम कम्पनीको २० अर्ब रुपैयाँको नवीकरण शुल्क हटाएर वार्षिक आम्दानीको आधारमा तोक्ने तयारी गरेको छ।
  • एकीकृत दूरसञ्चार नीति २०८३ मार्फत नवीकरण प्रक्रियालाई सरल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।
  • यस व्यवस्थाले टेलिकम कम्पनीको आर्थिक भार कम गरी सेवालाई प्रतिस्पर्धी र सस्तो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सरकारले नेपालका दूरसञ्चार सेवा प्रदायक खासगरी टेलिकम कम्पनीको नवीकरणमा २० अर्ब रुपैयाँ शुल्क लिने व्यवस्थालाई परिवर्तनको तयारी थालेको छ । अधिक शुल्क असुलीले जोखिममा पर्दै गएको टेलिकम कम्पनीहरुको भविष्यलाई दृष्टिगत गरेर सरकारले वार्षिक आम्दानीको आधारमा नवीकरण शुल्क तोक्ने व्यवस्था गर्न लागेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेर सुझावका लागि सार्वजनिक गरेको ‘एकीकृत दूरसञ्चार नीति २०८३’ को मस्यौदामा दूरसञ्चारको सेवा एवं पूर्वाधारको अनुमतिपत्रलाई सरल, पारदर्शी र व्यवस्थित बनाउने उल्लेख छ । यसका लागि दूरसञ्चार नीति स्वीकृत भएको ६ महिनाभित्रै ‘वार्षिक आम्दानीको निश्चित प्रतिशत अनुमतिपत्र नवीकरण दस्तुर हुने गरी कायम गर्ने’ भएको छ ।

सरकारले हाल दूरसञ्चार कम्पनीहरूको नवीकरण इजाजतपत्र पाएको १० वर्षमा पहिलोपटक र त्यसपछि दुई पटकका लागि ५/५ वर्षमा नवीकरण गर्ने गरेको छ । दूरसञ्चार कम्पनीको इजाजतपत्र नवीकरण गर्दा सरकारले सम्बन्धित सेवाप्रदायकबाट २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ असुल गर्दै आएको छ । यही शुल्क तिरेर सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको टेलिकमले ३ पटक नवीकरण गराइसकेका छन् ।

टेलिकम क्षेत्रलाई प्रतिस्पर्धी बनाउन र सेवा सस्तो बनाउन पनि दूरसञ्चार कम्पनीहरूले तिर्ने शुल्क तर्कसंगत हुनुपर्ने उल्लेख छ। प्राधिकरणले तयार पारेको दूरसञ्चार नीति सरकारबाट स्वीकृत भएर आएको अवस्थामा प्राधिकरणले ६ महिनाभित्रै वार्षिक आम्दानीको निश्चित प्रतिशत अनुमतिपत्र नवीकरण दस्तुर हुने व्यवस्था गर्ने भएको छ ।

यसका साथै सरकारले दूरसञ्चार सेवा शुल्कलाई प्रभाव पार्ने कर, दूरसञ्चार सेवा शुल्क तथा दस्तुरहरूलाई तर्कसंगत पुनरावलोकन गर्ने प्रस्ताव समेत मस्यौदामा उल्लेख छ । यो व्यवस्था पनि नीति स्वीकृत भएको ६ महिनाभित्रै हुने उल्लेख छ ।

हाल टेलिकम कम्पनीहरूले आम्दानीको तुलनामा चर्को शुल्क तिर्नुपरेको र वार्षिक आम्दानी घट्दै जाँदा पनि सरकारलाई तिनुपर्ने शुल्क तथा दस्तुर भने कायमै रहँदा सेवाप्रदायकलाई असहज भएको बताइएको छ । सरकारले अधिक शुल्क तथा नवीकरणबापत असुल गरेकै कारण यसअघि प्रतिस्पर्धामा आएका ६ वटा टेलिकम सेवाप्रदायकमध्ये ४ वटा बन्द भएर दुईवटामा मात्रै सीमित छन् ।

सरकारले वार्षिक आम्दानीको आधारमा अनुमतिपत्र नवीकरणको शुल्क लिने व्यवस्था गर्यो भने पक्कै अहिलेको २० अर्बको दायित्वभन्दा कम पर्ने बुझाइ नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताए । दूरसञ्चार प्राधिकरणले भदौ ३ मा १५ दिनको समय दिएर सुझाव मागेको छ । उक्त समयभित्रै टेलिकमले पनि आवश्यक सुझाव दिने जानकारी पनि लामिछानेले दिए।

उनका अनुसार हाल टेलिकम कम्पनीले तिर्दै आएको दूरसञ्चार सेवा शुल्क तथा अन्य शुल्कहरूकै कारण नाफामा असर गर्ने गरेको छ । सरकारले अहिले लिँदै आएको ग्रामीण दूरसञ्चार शुल्क वा रोयल्टीजस्तै निश्चित प्रतिशतको सीमाभित्र नवीकरण शुल्क तय गरेको अवस्थामा सेवाप्रदायकलाई सहज हुने बुझाइ लामिछानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?