नेपाल उद्योग वाणिज्य महासंघमा चुनाव: ढकाल र संघई प्यानलको भिडन्त हुँदै

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने महासंघको ६०औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । यसर्थ, हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ बिना प्रतिस्पर्धा अध्यक्ष बन्नेछन् । तर, बाँकी पदहरूका लागि हेमराज ढकाल र व्यवसायी रामचन्द्र संघई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ढकाल हालका वस्तुगततर्फका उपाध्यक्ष पनि हुन् ।

महासंघका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्नो प्यानलको औपचारिक घोषणा गरिसकेका छन् । उनको प्यानलबाट एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा महिला उपाध्यक्षमा कमला श्रेष्ठ चुनावी मैदानमा छन् ।

ढकाल आफ्नो मुख्य एजेन्डा कर प्रणालीको सुधार र उत्पादनमुखी उद्योगको प्रवर्द्धन भएको बताउँछन् । उनले कृषि, सूचना प्रविधि, पर्यटन, जलविद्युत् तथा उत्पादनमूलक उद्योगका लागि बैंकको ब्याजदर कम गराउने र रोकिएको निर्यात अनुदान पुनः सुचारु गराउने कुरालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

प्यानलमा विभाजित भए पनि अहिले पनि सर्वसम्मतिको प्रयास भइरहेको छ । आफूले महासंघको नेटवर्क बुझेको, सबै क्षेत्रका व्यवसायीका समस्याहरूसँग जानकार रहेको र समस्या समाधानका लागि निरन्तर खटेकाले आफ्नो जित सुनिश्चित रहेको ढकालको दाबी छ ।

अर्कातर्फ, त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघईले यस पटक पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । अघिल्लो निर्वाचनमा पनि सोही पदमा प्रतिस्पर्धा गरेका संघईले यस पटक भने जित्ने दाबी गरिरहेका छन् ।

यद्यपि, संघई समूहले अहिलेसम्म औपचारिक रूपमा प्यानलको घोषणा भने गरिसकेको छैन । तर, उनको समूहबाट एशोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे, जिल्ला–नगर उपाध्यक्षमा कृष्ण शर्मा र वस्तुगततर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरेले उम्मेदवारी दिने पक्कापक्की जस्तै छ ।

संघई आफ्नो मुख्य प्राथमिकता रोजगारी सिर्जना र साना तथा ठुला उद्योगका समस्या समाधानमा रहेको बताउँछन् । उनले रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउँदै सरकारका सुशासन र भ्रष्टाचार न्यूनीकरणका कदममा निजी क्षेत्रको सधैँ साथ रहने प्रतिबद्धता समेत जनाउँदै आइरहेका छन् ।

महासंघमा उद्योगी व्यवसायीहरूकै वर्चस्व हुनुपर्ने उनको मान्यता छ । आफ्नो प्यानलमा रोजगारी बढाउने व्यवसायीहरू रहेको र महासंघका सबै क्षेत्रमा राम्रो प्रभाव रहेकाले यस पटकको निर्वाचनमा आफूले बाजी मार्नेमा संघई विश्वस्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?