अब नेपालले इरानीलाई ‘अन अराइभल’ भिसा नदिने

सरकारले इरानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिइँदै आएको ‘अनअराइभल’ भिसामा रोक लगाएको छ। अध्यागमन विभागका अनुसार अब इरानी सर्वसाधारणले नेपाल भ्रमणमा आउनुअघि विदेशस्थित नेपाली दूतावास वा नियोगबाटै पूर्वस्वीकृति (भिसा) लिनुपर्नेछ।

अध्यागमन विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने यो नियम लागू हुने छैन। सर्वसाधारण र अन्य राहदानीवाहकका लागि भने नेपाल प्रवेशको विन्दुमा दिइने भिसा सुविधा बन्द गरिएको हो।

यस निर्णयसँगै नेपालले ‘अनअराइभल’ भिसा नदिने मुलुकको संख्या १३ पुगेको छ । सुरक्षा संवेदनशीलता र अध्यागमन नीतिका कारण यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई पनि यस्तो सुविधाबाट वञ्चित गरिएको थियो। अब इरान पनि सोही सूचीमा थपिएको हो।

यसैगरी, शरणार्थीको हैसियत प्राप्त गरी ट्राभल डकुमेन्ट बोकेका व्यक्तिहरूका लागि पनि नेपाल प्रवेशमा कडाइ गरिएको छ। त्यस्ता व्यक्तिहरूले पनि नेपाल आउनुअघि अनिवार्य रूपमा विदेशस्थित नेपाली दूतावासबाटै भिसा प्रक्रिया पूरा गर्नुपर्ने विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय सुरक्षा परिस्थिति र नेपालको राष्ट्रिय हितलाई ध्यानमा राख्दै अध्यागमन प्रशासनलाई थप व्यवस्थित बनाउन यस्तो कदम चालिएको विभागको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?