‘राष्ट्रिय गौरव’ योजना : ६ महिनामा १५ प्रतिशत खर्च, निजगढ विमानस्थल शून्यको शून्यै

सरकारको विशेष प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च र भौतिक प्रगति अत्यन्तै कमजोर देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विनियोजित बजेटको जम्मा १५.४९ प्रतिशतमात्रै ६ महिनामा खर्च भएको छ ।

२७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू बजेटमा राष्ट्रिय गौरवका २३ वटा कार्यान्वयनमा छन् । पुस मसान्तसम्म यी आयोजनामा ६७ अर्ब ८६ करोड विनियोजन भएकोमा जम्मा १० अर्ब ३९ करोड (१५.४९ प्रतिशत) मात्र खर्च भएको छ । मेलम्ची खानेपानी आयोजना ९९.५२ प्रतिशत र पुष्पलाल राजमार्ग ८१.७३ प्रतिशत भौतिक प्रगतिसहित अगाडि देखिएका छन् भने निजगढ विमानस्थलको प्रगति शून्य छ ।

कुन आयोजनाको प्रगति कस्तो ?
केही पुराना र ठूला सडक आयोजनाको भौतिक प्रगति उत्साहजनक देखिए पनि नयाँ र जटिल आयोजना सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

पुष्पलाल (मध्य पहाडी) राजमार्ग: कुल भौतिक प्रगति ८१.७३ प्रतिशत पुगेको छ । १५२९ किलोमिटर सडक कालोपत्रे सकिएको ।

हुलाकी राजमार्ग: ७४.३५ प्रतिशत भौतिक प्रगतिसहित १३८० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): भौतिक प्रगति ४२.१३ प्रतिशतमात्रै । ६ महिनामा २ अर्ब ४२ करोड खर्च ।

मेलम्ची खानेपानी : पहिलो चरणको भौतिक प्रगति ९९.५२ प्रतिशत पुगेको छ । बाढी र प्राकृतिक विपत्तिले मुहान क्षेत्रमा अझै समस्या ।

विमानस्थलहरू: गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति शून्य ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको प्रगति जम्मा ८.१८ प्रतिशत ।

राष्ट्रिय गौरवका आयोजना विलम्ब हुनुमा जग्गा प्राप्ति र मुआब्जा, रुख कटान र वन क्षेत्रको भोगाधिकारसम्बन्धी कानुनी जटिलता, डिपीआर टुंगो नलाग्दै योजनाको सुरूवात, आन्दोलनको प्रभाव जस्ता समस्या देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?