प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा पहुँच र सिफारिसका भरमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्।
पर्यटनमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार सिंहदरबारमा निगमका सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाउँदै संस्थाभित्रको बेथितिप्रति तीव्र असन्तुष्टि जनाउँदै सो निर्देशन दिएकी हुन्।
उनले भनिन्, “जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो र? नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन र? यहाँ आन्दोलन भइरहेको छ, उता भने आफ्ना मान्छे भटाभट भर्ती भइरहेका छन्। अवकाश पाइसकेका मान्छेले पनि मनपरी गरिरहेका छन् — यो कस्तो बेथिति हो?”
प्रधानमन्त्री कार्कीले नेपाल वायु सेवा निगम कहिल्यै गौरव गर्नलायक संस्था रहेकामा अहिले ‘धनाढ्यको बिग्रिएको घर’ जस्तो बनेको टिप्पणी गरिन्। उनले भनिन्, “हेर्दा सबैथोक छ, तर भित्र दर्दनाक अवस्था छ। नाफा–घाटा नभए पनि कम्तीमा रोजगारी दिएको छ भनेर चित्त बुझाउन सकिन्थ्यो, तर त्यो पनि छैन।”
प्रधानमन्त्री कार्कीले निगम सुधारका लागि अहिलेसम्म बनेका विभिन्न प्रतिवेदन र सुझावहरू कार्यान्वयन गर्न ठोस योजना बनाउन निर्देशन दिइन्। साथै, गैरकानूनी दबाब र राजनीतिक प्रभावलाई अस्वीकार गर्न आग्रह गरिन्। “राजनीतिक मान्छेहरूले दबाब दिन्छन् भने पनि नमान्नुस्। विधिअनुसार काम गर्नुस्, राम्रो काम गर्दा अख्तियारसँग डराउनुपर्दैन,” उनले भनिन्।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्थाको १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित घाटा रहेको तथ्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कार्कीले जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने र भाडाको इन्जिनमा खर्च देखाउने प्रवृत्तिप्रति पनि आक्रोश जनाइन्।
उनले भनिन्, “यो घाटा त जनताले बेहोरेको घाटा हो। अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ, अप्रिय निर्णय लिन पनि तयार हुनुपर्छ।” निजी क्षेत्रका विमान सेवा प्रदायकहरू नाफामा रहेका बेला नेपाल एयरलाइन्स निरन्तर घाटामा जानुको कारण खोज्न पनि उनले प्रश्न गरिन्। “सरकारले स्रोतसाधन दिएको छ, साथ दिएको छ, तैपनि घाटा किन? बरु यो पैसाले विश्वविद्यालय, विद्यालय वा अस्पताल बनाएको भए पनि जनतालाई फाइदा हुने थियो,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।
कार्यक्रममा निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले सुधारका ठोस कदम चाँडै देखिने गरी अघि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, “निगममा बोल्ड निर्णय गर्नुपर्ने अवस्था आएको छ। अप्रिय निर्णय गर्न पनि म तयार छु, तर सरकारले साथ दिनुपर्छ।”
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, “संस्था सुधारका लागि तपाईँहरू लाग्नुस्, सरकार तपाईँहरूको दाहिने हातमा छ।”कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

