करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्डले नेतृत्व पाउने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेसँगै बोर्डले अध्यक्ष पाउन लागेको हो । चर्को विवाद र लामो राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन ।
सिफारिस समितिले यसअघि पहिलो चरणमा छानिए पनि कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा सहभागी नभएका कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पछिल्लो पटक आइतबार बोलाएको थियो । उल्लिखित तीन जनामध्ये कार्की र अधिकारी कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा उपस्थित भए । कार्की र अधिकारीको अन्तर्वार्ता सकिएपछि बसेको सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
सिफारिस नाममध्ये एक जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले अध्यक्ष छनोट गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

