एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत

आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्रमा ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ, जुन आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा बढी हुने एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ ।

‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्नेछ’, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।

एसियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर २०२४) का अनुसार कृषि क्षेत्रको वृद्धि हुनेछ भने विद्युत उत्पादन क्षमता वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ । पर्यटकको आगमनमा भएको वृद्धिले आवास र भोजन सेवाहरूमा सुधार भई सेवा क्षेत्रले गति लिने अपेक्षा गरिएको छ ।

अनुकूल मौसमका कारण समयमै धान रोपाइँ भएकाले धानको उत्पादन पनि बढ्न जाने देखिएकोले आर्थिक विस्तारमा सहयोग पुग्ने बताइएको छ । यस्तै लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यवसायिक गतिविधि सुदृढ हुने अपेक्षा आउटलुकले गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रा स्फीति ५ प्रतिशतभित्रै सीमित गर्न लिएको लक्ष्य हासिल हुनसक्ने देखिन्छ । नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रा स्फीतिमा सामान्य गिरावट आएसँगै मुद्रा स्फीति राष्ट्र बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ ।

बाह्य जोखिमहरू भने सापेक्ष रूपमा नियन्त्रणमा रहनेछन् । व्यापार घाटामा गिरावट, उत्साहबर्द्धक रेमिट्यान्स (विप्रेषण आप्रवाह) र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ । यद्यपि आर्थिक वर्ष २०८१/८२ मा चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा रेमिट्यान्समा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो ।

मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्छ । विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्नसक्छ । प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिर स्थायी जोखिमका रूपमा रहेका छन् ।

एडीबी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत चरम गरिबी निवारणको पहललाई जारी राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

सन् १९६६ मा स्थापना भएको एडीबीमा ६८ सदस्यहरूको स्वामित्व रहेको छ । तीमध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?