तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको हो ।
आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को एक प्रक्रियाका रुपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुङ्गो लागिसकेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट (५२४ गिगावाट घण्टा) वार्षिक ऊर्जा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सहमति भएको उनले उल्लेख गरे ।
‘आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न ग्रिड आबद्धता सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणमा प्रस्ताव पेस गरिएको छ’, श्रेष्ठले भने ।
तल्लो सेती जलविद्युत् आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इन्जिनियरिङ एन्ड एसोसिएटससँग सम्झौता भएको थियो । सो बमोजिम निर्माण व्यवसायीले अहिले पहुँच मार्ग, अडिट सुरुङलगायत इन्जिनियरिङ सर्भे जारी राखेको श्रेष्ठको भनाइ छ ।
‘आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक ‘अडिट’ सुरुङ निर्माण गर्न लागिएको छ । आयोजना सुरु गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन् । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमलव सात किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो । यो उक्त सुरुङ पछि अन्य कामका लागि प्रयोगमा आउने छ । डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्ने अवधि रहेको छ’, उनले अगाडि भने ।

