काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् ।
प्रतिनिधिसभाले बनाएको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको हो ।
अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका हुन् । बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले दिएको जानकारीअनुसार ज्योतीविरुद्ध ठाडो उजुरी परेको र अनुसन्धान सुरु गरिएको छ । यता समितिमा उपस्थित कुम्मराज गुरुङले सीआईबीमा पनि उजुरी परेको बताएपछि सीआईबीबाट पनि फाइल मगाइएको स्रोतले जानकारी दियो ।
“कुम्मराज गुरुङसँग औपचारिक सोधपुछका क्रममा १२ देखि १४ करोडसम्म रकम अपचलन गरेको जानकारी गराउनुभएको छ,” छानबिन समिति स्रोतले भन्यो, “श्रीमती सहकारीको व्यवस्थापक रहेका बेलामा त्यति रकम हिनामिना भएको रहेछ । यसबारेमा ज्योतीका श्रीमान् धनराज पनि जानकार भएको हामीले पाएका छौँ ।”
ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । धनराज गुरुङले भने ज्योतीसँग ‘डिभोर्स’ भइसकेको बताउँदै आएका छन् ।
ती सदस्यले दिएको जानकारीअनुसार कुम्मराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी समेत गरेका थिए । “धनराज पनि जानकार छन् । बूढाबूढी सँगै बसेर पनि पटक–पटक तिर्ने बाचा गरेका हुन् भनेर कुम्मराजले लिखित बयान नै दिनुभएको छ,” समिति स्रोतले भन्यो ।
कुम्मराजले धनराजसँग पछिल्लो सम्पर्क दुई वर्षअघि पनि भएको बताउँदै समितिको बयानमा भनेका छन्, “डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएका हुन् ।”
स्रोतले दिएको जानकारीअनुसार ज्योतीबहादुर भण्डारीमार्फत् थाइल्यान्डमा ज्योती गुरुङले ‘बिटक्वाइन’मा लगानी गरेको र लगानी डुबेपछि फरारको सूचीमा रहेकी हुन् ।

