भारत भ्रमणमा बालेनको प्राथमिकता व्यापार र लगानी : दिल्लीमा बिजनेस फोरम

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार तथा लगानी विस्तारलाई प्राथमिकतामा राखेर बिजनेस फोरम आयोजना हुने भएको छ। भारतीय र नेपाली उद्योगी व्यवसायीलाई एकै ठाउँमा सहभागी गराएर लगानीका सम्भावना र व्यापारिक सहकार्यका विषयमा छलफल गर्न लागिएको हो।

भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले मंसिर ६ गते साँझ नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा इन्डिया–नेपाल बिजनेस फोरम आयोजना गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाह सोही दिन दिउँसो नयाँ दिल्ली पुग्ने कार्यक्रम छ।

फोरममा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्नेछन्। भारतीय उद्योग तथा वाणिज्यमन्त्री पियुस गोयलले पनि कार्यक्रममा सम्बोधन गर्ने तय भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तारसँग जोड्ने उद्देश्यले फोरम आयोजना गर्न लागिएको हो। यसमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसहित दुवै देशका उद्योगी व्यवसायी सहभागी हुनेछन्।

नेपाल उद्योग परिसंघले फोरममा भारतीय लगानीकर्तालाई लक्षित गरी नेपालमा लगानीका सम्भावना, लगानीको वातावरण र पछिल्लो समय सुधार गरिएका कानुनी व्यवस्थाबारे जानकारी गराउने दस्तावेज तयार पारेको छ। भारतीय लगानी आकर्षित गर्न नेपालमा उपलब्ध अवसर र नीतिगत सुधारलाई प्रस्तुत गर्ने तयारी रहेको परिसंघका एक पदाधिकारीले बताए।

नेपाल उद्योग वाणिज्य महासंघले पनि अर्थमन्त्री वाग्लेलाई पत्र लेखेर फोरममा सम्बोधन गरिदिन आग्रह गरेको थियो। परराष्ट्र मन्त्रालयले तीनवटै व्यावसायिक संस्थासँग भारत भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीको नाम मागेको छ। तर, कति जना व्यवसायीलाई भ्रमण टोलीमा समेट्ने भन्ने टुंगो लागिनसकेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बताए।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री वाग्ले सहभागी हुने भएपछि भ्रमणको आर्थिक तथा व्यावसायिक पक्षले थप प्राथमिकता पाउने देखिएको छ। यसअघि अर्थमन्त्री भारत भ्रमणमा नजाने बताइएको थियो। तर, अन्तिम समयमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सट्टा अर्थमन्त्रीलाई भ्रमण टोलीमा सहभागी गराउने निर्णय भएको हो।

मंसिर ६ गते हुने भ्रमणका लागि बुधबार बिहानसम्म परराष्ट्र मन्त्रालयले ऊर्जामन्त्री श्रेष्ठको पासपोर्ट माग्नुका साथै दिल्ली आउजाउको टिकटबारे जानकारी गराएको थियो। तर, पछि उनको नाम भ्रमण सूचीबाट हटाइएको हो। ऊर्जा मन्त्रालयका एक सहसचिवले भने मन्त्रीको नाम काटिएकोबारे औपचारिक जानकारी नआएको बताएका छन्। मन्त्रालयले भ्रमणका लागि ऊर्जा क्षेत्रसँग सम्बन्धित एजेन्डालाई अन्तिम रूप दिइरहेको उनको भनाइ छ।

अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीसँगै भारत जाने भएपछि वरीयताका आधारमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई दिने प्रधानमन्त्री शाहको तयारी छ।

यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आयोजना गर्ने भनिएको नेपाल–भारत सीईओ राउन्डटेबल कार्यक्रम भने अन्तिम समयमा रद्द भएको छ। नेपाल–भारत चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र लगानी बोर्डले दुवै देशका विभिन्न क्षेत्रका प्रमुख कार्यकारी अधिकृतलाई सहभागी गराएर उक्त कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए।

यसअघि पनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीआईआईले दुवै देशका उद्योगी व्यवसायीलाई सहभागी गराएर बिजनेस फोरम आयोजना गर्दै आएको थियो। यसपटक भने सीईओ राउन्डटेबल रद्द भए पनि उद्योगी व्यवसायीबीच प्रत्यक्ष संवाद र लगानीका अवसरबारे छलफल गर्ने मुख्य कार्यक्रमका रूपमा बिजनेस फोरम रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

पर्यटन आगमनले चन्द्रागिरि हिल्सको नाफामा सुधार : खुद नाफा करिब ३ करोड

तीन महिनामा उद्योग क्षेत्रमा एक खर्ब लगानी प्रस्ताव

दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

छुटाउनुभयो कि ?