अख्तियारद्वारा एक वर्षमा २५ अर्ब २३ करोड बिगो मागदाबी गर्दै मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न भ्रष्टाचारजन्य कसुरमा ९९० प्रतिवादीविरुद्ध २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले गत आर्थिक वर्षमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा १७५ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको जानकारी दिए ।

उनका अनुसार दायर मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक हानि–नोक्सानीसम्बन्धी ५६ वटा रहेका छन् । त्यस्तै घूस (रिसवत) सम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, झुटा/नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १५ र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ वटा मुद्दा दायर भएका छन् ।

राजस्व चुहावट/हिनामिना र सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी पाँच/पाँच तथा अन्य कसुरसम्बन्धी १५ वटा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

स्थानीय तहसँग सम्बन्धित उजुरी बढी

आयोगका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कायम कुल उजुरीमध्ये तहगत आधारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी २० हजार २५ वटा रहेका छन् । सङ्घ सरकारसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेश सरकारसँग सम्बन्धित पाँच हजार ३०५ वटा उजुरी दर्ता भएका छन् ।

वार्षिक प्रतिवेदनअनुसार छ वटा प्रदेशमा स्थानीय तहका निकाय वा पदाधिकारीसँग सम्बन्धित उजुरी बढी परेका छन् भने बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसँग सम्बन्धित उजुरी बढी रहेका छन् ।

समग्र उजुरी सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम रहेको आयोगले जनाएको छ । प्रदेश सरकारसँग सम्बन्धित पाँच हजार ३०५ उजुरीमध्ये मधेस प्रदेशका सबैभन्दा बढी एक हजार ४७५ र गण्डकी प्रदेशका सबैभन्दा कम ४०७ वटा रहेका छन् ।

विषय क्षेत्रका आधारमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी छन् । मधेस प्रदेशमा भने भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेको आयोगले जनाएको छ ।

स्थानीय तहसँग सम्बन्धित २० हजार २५ उजुरीमध्ये मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित सात हजार ३७० र गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित एक हजार ४०६ उजुरी रहेका छन् ।

सङ्घ सरकारसम्बद्ध उजुरीमध्ये मन्त्रालयगत आधारमा साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेको आयोगले जनाएको छ ।

त्यसपछि क्रमशः शिक्षा तथा खेलकुद, गृह, पूर्वाधार विकास, अर्थ, स्वास्थ्य तथा खाद्य स्वच्छता, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कृषि, वन तथा पर्यावरण र सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित उजुरी बढी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?