
- नेपाल जन–प्रशासन संघले यस वर्षको हेमबहादुर मल्ल सम्मान डा. रामकण्ठ माकजू श्रेष्ठ र पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई प्रदान गर्ने निर्णय गरेको छ।
- स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनमा विशिष्ट योगदान पुर्याएका यी दुई व्यक्तित्वलाई आगामी भदौ ८ गते सम्मान गरिने भएको छ।
- सम्मानपत्रसहित २ लाख रुपैयाँ नगद राशि रहेको यो पुरस्कार सार्वजनिक क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप प्रदान गरिँदै आएको छ।
काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।
संघका अनुसार हेमबहादुर मल्ल सम्मान–२०८१ धुलिखेल अस्पतालका संस्थापक तथा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. रामकण्ठ माकजू श्रेष्ठलाई प्रदान गरिने भएको छ। त्यस्तै, हेमबहादुर मल्ल सम्मान–२०८२ सार्वजनिक प्रशासन तथा सेवाका क्षेत्रमा लामो योगदान पुर्याएका पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई अर्पण गरिनेछ।
धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा र संस्थागत विकासमा डा. श्रेष्ठले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको संघले जनाएको छ। संघका अनुसार डा. श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्व सुदृढ गर्न महत्वपूर्ण काम भएको छ।
त्यस्तै, सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीवृद्धिमा खनालले पुर्याएको योगदानलाई मूल्यांकन गर्दै उनलाई २०८२ को सम्मान प्रदान गर्ने निर्णय गरिएको हो। सार्वजनिक जिम्मेवारीमा रहँदा नीति निर्माण, प्रशासन सञ्चालन तथा सार्वजनिक सेवाका क्षेत्रमा उनले निर्वाह गरेको भूमिकालाई सम्मान छनोटको महत्वपूर्ण आधार बनाइएको संघले जनाएको छ।
दुवै सम्मानका लागि उत्कृष्ट व्यक्तित्व छनोट गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन–प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा संघले डा. श्रेष्ठ र खनाललाई सम्मान गर्ने निर्णय गरेको हो।
सम्मान छनोटका क्रममा सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा पुर्याएको योगदान, सार्वजनिक जीवनमा पारेको प्रभाव, संस्थागत नेतृत्व तथा विकासमा निर्वाह गरेको भूमिका र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइएको संघले जनाएको छ।
नेपाल जन–प्रशासन संघले वि.सं. २०६० देखि ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ। ख्यातिप्राप्त प्रशासक एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा रहेर सार्वजनिक वितरण, सेवा र व्यवस्थापनका क्षेत्रमा पुर्याएको योगदानको स्मरण तथा सम्मानस्वरूप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको साझेदारीमा यो सम्मान स्थापना गरिएको हो।
सम्मानपत्रसहित २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने यस सम्मानको उद्देश्य सार्वजनिक जीवनमा दीर्घकालीन, अनुकरणीय तथा संस्थागत योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रियस्तरमा सम्मान गर्नु रहेको संघले जनाएको छ।
दुवै सम्मान आगामी भदौ ८ गते सोमबार एक समारोहबीच प्रदान गरिनेछ। समारोहमा सम्मानित व्यक्तित्वका योगदानलाई औपचारिक रूपमा सम्मान गर्नुका साथै उहाँहरूको अनुभव, दृष्टिकोण र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताबारे सार्वजनिक संवादसमेत गरिने संघले जनाएको छ।
संघका अनुसार यस सम्मानबाट हालसम्म सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन्।
नेपाल जन–प्रशासन संघले हेमबहादुर मल्ल सम्मानलाई व्यक्तिको योगदानको सम्मानमा मात्र सीमित नराखी सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, संस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धता प्रोत्साहन गर्ने महत्वपूर्ण संस्थागत अभ्यासका रूपमा अघि बढाउँदै आएको जनाएको छ।
संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पेशागत सम्बन्ध सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन तथा मूल्यांकनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा राष्ट्रिय सम्मानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

