बालेन सरकारले ल्यायाे ‘सुधारमुखी’ नीति तथा कार्यक्रम

समाचार सारांश
Auto Generated by AI
  • अर्थतन्त्रलाई श्रममा आधारित संरचनाबाट डिजिटल प्रविधि र सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
  • स्टार्टअपमैत्री नीति, वैदेशिक लगानीका लागि फास्ट ट्र्याक भिसा र सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रूपमा प्राथमिकता दिइएको छ।
  • निजामती प्रशासनमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, शिक्षामा एआई समावेश गर्ने र ठूला पूर्वाधार आयोजनाको समयमै कार्यान्वयनमा जोड दिइएको छ।

बालेन सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रूपान्तरणकारी  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्रलाई श्रम निर्यातमा आधारित संरचनाबाट ज्ञान, डिजिटल प्रविधि र मूल्य अभिवृद्धिमा आधारित सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य अघि सार्नुभयो ।

सरकारले ‘स्टार्टअप नेपाल पोर्टल’ सञ्चालनमा ल्याई कम्पनी दर्ता, कर छुट, बिउ पुँजी तथा अन्य आवश्यक सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि औद्योगिक व्यवसाय प्रतिष्ठानमार्फत स्टार्टअप कर्जा प्रवाह हुँदै आएको थियो भने कम्पनी रजिस्ट्रार कार्यालय तथा उद्योग विभागमार्फत छुट्टाछुट्टै रूपमा दर्ता र लगानी स्वीकृतिको प्रक्रिया सञ्चालन हुँदै आएको थियो । अब स्टार्टअपका लागि झन्झटमुक्त दर्ता प्रक्रिया र एकै दिनमै कम्पनी दर्ता गर्ने व्यवस्था गरिने सरकारको भनाइ छ ।

उद्यमी र मध्यमवर्गीय परिवारमाथिको करको भार घटाउन सरकारले व्यक्तिगत आयकरको हालको १ देखि ३९ प्रतिशतसम्मको संरचना पुनरावलोकन गर्ने घोषणा गरेको छ । भन्सारमा हुने न्यून बिजकीकरण अन्त्य गरी राजस्व चुहावट नियन्त्रण गर्ने लक्ष्य पनि सरकारको छ ।

पूँजी बजारलाई सुरक्षित र चलायमान बनाउन पेन्सन कोष, बीमा कम्पनी तथा गैरआवासीय नेपालीलाई सहभागी गराइनेछ । पूर्वाधार क्षेत्रमा लगानी अभाव न्यूनीकरण गर्न ‘पूर्वाधार वित्त पोषण’ मोडल र डायस्पोरा पुँजी परिचालन गरिने नीति लिइएको छ ।

वैदेशिक लगानी आकर्षित गर्न सरकारले तोकिएको सीमाभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने घोषणा गरेको छ । साथै, ‘लगानी एक्सप्रेस नीति’ लागू गरी लगानीकर्तालाई ३० दिनभित्र सबै अनुमति उपलब्ध गराइने बताइएको छ ।

समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिन ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने भएको छ । समस्याग्रस्त सहकारीबाट कर्जा असुली गरी सोही रकमबाट बचतकर्ताको पैसा फिर्ता गरिने सरकारको योजना छ । सहकारी नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ लाई थप सुदृढ बनाइनेछ ।

कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न सरकारले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने र भुक्तानी सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गर्ने जनाएको छ ।

वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ‘रेमिट्यान्स लगानी मिलान कोष’ स्थापना गरिनेछ । विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न सहुलियत ऋण तथा ‘डिजिटल सीप पासपोर्ट’ को व्यवस्था गरिनेछ ।

सरकारले ‘भिजिट नेपाल २०८५’ अभियानको पूर्वतयारी सुरु गर्दै नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी मोडलमा पुनर्संरचना गरिनेछ । आगामी वर्षभित्र काठमाडौँ, पोखरा र भैरहवास्थित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने सरकारको लक्ष्य छ । साथै, साहसिक पर्यटन प्रवर्द्धनका लागि १० वटा नयाँ पदमार्ग पहिचान र विकास गरिनेछ ।

सरकारले नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गर्ने तथा डिजिटल श्रम निरीक्षण प्रणाली लागू गर्ने जनाएको छ । बालश्रम नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

माध्यमिक तहसम्मको शिक्षालाई पूर्ण निःशुल्क बनाउँदै पाठ्यपुस्तक र पोसाकको सहज वितरण सुनिश्चित गरिनेछ । १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पु¥याइने र विद्यालय तहदेखि नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अध्ययन सुरु गरिने नीति लिइएको छ । उत्कृष्ट शिक्षकलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइनेछ ।

भूमिहीन दलित र सुकुम्बासीका लागि सुरक्षित बसोबासको दीर्घकालीन समाधान खोजिने तथा आगामी वर्षदेखि सबै सार्वजनिक निकाय र सेवा ‘अपाङ्गतामैत्री’ बनाइने घोषणा गरिएको छ ।

सरकारले निजामती सेवामा राजनीतिक हस्तक्षेप अन्त्य गर्दै प्रशासनलाई थप तटस्थ र व्यावसायिक बनाउने नीति अघि सारेको छ । नीति तथा कार्यक्रममा निजामती सेवामा रहेका ट्रेड युनियन खारेज गरिने उल्लेख गरिएको छ ।

सरकारी कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने चेतावनी पनि सरकारले दिएको छ । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सूचकमा आधारित बनाइने र कमजोर कार्यसम्पादन गर्ने कर्मचारीलाई ‘नकारात्मक सूची’ मा राखी कारबाही गरिनेछ ।

ऊर्जा र आयोजना व्यवस्थापन

ऊर्जा क्षेत्रमा आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले अघि सारेको छ । अन्तरदेशीय विद्युत् व्यापारलाई तीव्रता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

विकास आयोजना समयमै सम्पन्न गर्न आयोजना प्रमुखसँग प्रत्यक्ष कार्यसम्पादन सम्झौता गरिने तथा आयोजना सम्पन्न नभएसम्म प्रमुखलाई सरुवा नगरिने व्यवस्था गरिनेछ । डिजिटल प्रगति ट्र्याकिङ प्रणालीमार्फत आयोजनाको अनुगमन गरिने सरकारको भनाइ छ ।

यसैगरी ढुङ्गा–गिटीको अवैध उत्खनन नियन्त्रण, चुरे क्षेत्रको वैज्ञानिक संरक्षण तथा विशेष आर्थिक क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा समेटिएका योजनाहरू स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समयसीमासहित कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले ग्रीन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्र विकास गरी औद्योगिक पर्यटनसँग जोड्ने नीति लिएको छ । त्यस्तै, नापी र मालपोत कार्यालयलाई एकीकृत गरी सेवा प्रवाह गरिने घोषणा गरिएको छ ।

सरकारले २०८७ सालसम्म देशका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । एकीकृत खानेपानी कार्यक्रममार्फत संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आयोजना सञ्चालन गरिनेछ ।

नागरिकले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न देशभर पानी परीक्षण प्रयोगशाला स्थापना गरिने नीति लिइएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वर्षाको पानी संकलन र दिगो व्यवस्थापनलाई पनि प्राथमिकता दिइनेछ ।

यसैबीच सरकारले नेपाली पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणाअन्तर्गत अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी निर्यात गर्ने नयाँ रणनीति अघि सारेको छ ।

सरकारले सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) निर्यातलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । उच्च क्षमतायुक्त डेटा सेन्टर र डिजिटल पार्क स्थापना गरिनेछ भने अनुसन्धान तथा नवप्रवर्तनमा लगानी गर्ने उद्योगलाई कर प्रोत्साहन दिइनेछ ।

युवा पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले पहिलोपटक ‘रिमोट वर्क’ सम्बन्धी कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ । यसबाट नेपाली युवाले नेपालमै बसेर विदेशी कम्पनीका लागि कानुनी रूपमा काम गर्न सक्नेछन् । विदेशी मुद्रा आर्जन सहज बनाउन अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिइने नीति पनि सरकारले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?