बीवाईडीकाे नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कको व्यापार ३० प्रतिशतले घटेको छ ।
कम्पनीले सन् २०२४ मा साढे १६ अर्ब रुपैयाँको व्यापार गरेकामा सन् २०२५ मा साढे ११ अर्ब रुपैयाँमा खुम्चिएको हो । साइमेक्सले गरेको यो व्यापार गाडीको बिक्री र बिक्रीपछिको सेवा समेतको आम्दानी हो । यो तथ्यले नेपालमा बीवाईडीको उपस्थिति एक वर्षमा निकै कमजोर भएको पुष्टि गर्छ ।
कम्पनीले सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको साइमेक्स बीवाइडी ब्रान्डको नेपालको लागि आधिकारिक बिक्रेता हो । कम्पनीले प्यासेन्जर र कमर्सियल सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर आफ्नै १४ वटा शोरुम शाखा छन् भने ६४ वटा चार्जिङ स्टेशन छन् ।
यमुना श्रेष्ठको ५०.५ प्रतिशत र अनिल श्रेष्ठको ४९.५ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ४५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले विशेषगरी विद्युतीय सवारीसाधन आयात गर्दै आएको छ ।
कम्पनीले सन् २०२५ मा गरेको व्यापार दुई वटा मोडलको गाडीमा निर्भर रहेको छ । कम्पनीअनुसार सन् २०२५ मा एट्टो थ्री र डल्फिनबाट मात्र ९० प्रतिशत व्यापार गरेको छ । त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई नयाँ मोडलको सवारी साधन सार्वजनिक गरेको छ ।
कम्पनीले एट्टो टु र कम मूल्यको एट्टो वान गाडी सार्वजनिक गरेको छ । नेपाली बजारमा उच्च प्रतिस्पर्धा रहेकाले सार्वजनिक नयाँ गाडीले व्यापारमा सुधार ल्याउने जनाएको छ ।
साइमेक्सको बिजनेससँगै सञ्चालन नाफा पनि घटेको छ । नाफाको मार्जिन गत वर्षको ११.१ प्रतिशतबाट घटेर ६.६ प्रतिशतमा खुम्चिएको छ ।
रेटिङ एजेन्सी इक्राका अनुसार साइमेक्सको चालु पुँजीमा चाप बढ्दो छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा निकै ठूलो परिवर्तन देखिएको छ । सन् २०२४ मा कुल आम्दानीको ५ प्रतिशतमात्र रहेको नेट वर्किङ क्यापिटल सन् २०२५ मा बढेर ३१ प्रतिशत पुगेको छ । यसको मुख्य कारण नयाँ मोडलका गाडी आयात गर्न कम्पनीले उत्पादकलाई ठूलो रकम अग्रिम भुक्तानी दिनु परेकाले हो । यसले कम्पनीको नगद प्रवाहमा दबाब सिर्जना गरेको छ ।
कम्पनीसँग एलसी खोल्ने सीमा त ठूलो छ, तर वास्तविक क्यास क्रेडिट चलाउन पाउने सीमा भने एलसी लिमिटको करिब ४२ प्ररतिशतमात्र छ । यदि कुनै समयमा भुक्तानीको चाप बढी भयो वा बीवाईडीले दिँदै आएको क्रेडिट सपोर्ट घटायो भने साइमेक्सलाई तत्काल क्यास फ्लोको समस्या पर्न सक्छ ।
यता नेपाली बजारमा साइमेक्सको व्यापार मुख्यतया दुईवटा मोडलमा मात्र निर्भर रहनुलाई जोखिमपूर्ण मानिएको छ ।

