बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल हायात प्यालेस

औद्योगिक नगर रुपन्देहीको बुटवलमा तीन अर्ब ५० करोड लगानीमा पाँचतारे होटेल हायात प्यालेस सञ्चालनमा आएको छ ।

आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कठ्ठा क्षेत्रफलमा बनेको दशतले भवनमा १०९ कोठासहितको हायात प्यालेस सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटेल हो ।

सुरुमा सेफ्रोन होटलको नाममा निर्माण सुरु भए पनि निर्माण सम्पन्नपछि अन्तर्राष्ट्रिय चेन ब्राण्ड हायात प्यालेस नाममा सञ्चालनमा आएको हो । हायात ब्राण्ड सन् २००६ मा सुरु भई अहिले संसारभर ४२० भन्दा बढी स्थानमा फैलिएको छ ।

बुटवलमा पाँचतारे होटेल नभएकाले रुपन्देहीको अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले पाँचतारे होटेलमा लगानी गरेको हो । होटेलमा व्यवसायीहरु चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त लगानी रहेको छ ।

होेटलमा भएको कूल लगानीमध्ये ६५ प्रतिशत बैंकको ऋण र ३५ प्रतिशत ६ जना सञ्चालकको लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

विभिन्न ६ श्रेणीका १०९ कोठा रहेको होटेलमा एक रातमा २५० जना पाहुना बास बस्न सक्ने सञ्चालक पौडेलले बताए । होटेल र यसका कोठाहरुको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिल्यै पुरानो नहुने ९टाइमलेस० रहेको र क्याजुअल कम्फर्टमा सबैभन्दा जोड दिएको पौडेलले बताए । बोधी वृक्षको पातको आकृति होटेलका धेरै संरचनामा राखिएको छ भने डेढ सय जना क्षमताको अल डे डाइनिङ रेष्टुरेण्टमा मायादेवी मन्दिरको इट्टाको बनावट झल्किने डिजाइन छ ।
होटेलको लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चारवटा विशेष बास्तुकला स्तम्भले निकै भव्य बनाएको छ । जसमा बुद्ध दर्शनका चार आर्य सत्यहरु दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ भन्ने झल्काइएको छ ।

होटेलको मुख्य विशेषता अहिलेको व्यस्त जीवनशैली र एकैपटक धेरै काम गर्नुपर्ने पाहुनाहरूका लागि आरामदायी बसाइसँगै दैनिक जीवनका सबै सुविधा सहज र नवीन रुपमा प्रदान गर्नु रहेको उनले बताए । ‘होटेलका कोठाहरुमा पाहुनाहरुलाई काम गर्न, सुत्न र खेल्नका लागि छुट्टाछुट्टै ठाउँको व्यवस्था छ, विजनेस फोकस्ड भएता पनि यो फेमिली फ्रेण्डली होेटेल हो,’ पौडेलले भने–‘होटेलले नेपालको सारलाई समेटेको छ ।’

होटेलले आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरी लबी लेभलमै जिङ बार, ११ सय स्क्वायर मिटरको बलरुम, तीन वटा हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनमा बनेको स्पा, ज्याकुजी, पर्याप्त पार्किङ् जस्ता सुविधा उपलब्ध गराएको उनले बताए । ‘छिमेकी मुलुक भारत उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ, त्यसमध्ये केही प्रतिशतलाई बुटवल भित्राउन सकिन्छ भन्ने हाम्रो आशा छ, त्यहीअनुसार होटेलको आर्किटेक्ट डिजाइट, बनावट, सजावट निकै फरक र गुणस्तरीय छ ।’– पौडेलले भने । निकट भविष्यमा क्यासिनो समेत सञ्चालन गर्ने तयारी रहेकाले पनि भारतीय पर्यटकको गन्तव्य बुटवललाई गराउन सकिने उनले बताए ।

‘बुटवलमा क्यासिनोसहितको पहिलो पाँचतारे होटल हायात प्यालेस नै हुनेछ,’ पौडेलले भने–‘यसले विदेशी मुद्रा आर्जनसँगै रुपन्देहीको अर्थतन्त्र चलायमान बनाउने हाम्रो विश्वास छ ।’

होटेललाई केवल व्यवसायका रुपमा मात्र नभई बुटवलको गौरव बढाउने गहनाका रुपमा बुझिदिन पौडेलले आग्रह गरे ।
मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो भनेर सरकारले भन्दै आएकाले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने होटलका अर्का सञ्चालक कमलकिशोर मालपानीले बताए । ‘सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्छ, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सञ्चालन हुनुपर्छ,’ मालपानीले भने–‘यी दुई पूर्वाधार सञ्चालनले मात्रै रुपन्देहीका होटेल र पर्यटन व्यवसायलाई राहत दिनसक्छ ।’

होटेलले पूर्ण क्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिन सक्ने जनाएको छ । जसमा स्थानीयलाई प्राथमिकता दिइएको सञ्चालक नरिश्वर शर्माले बताए ।

होटेलको औपचारिक उद्घाटन नोभेम्बर २५ तारिखमा हुनेछ । होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सार्वजनिक सडक करिब ४० लाख रुपैयाँमा आफ्नै लगानी गरेर पीच र सौन्दर्यीकरण गरेको अर्का सञ्चालक भूमिराज पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?