नरेशमान शाहले न्युरोडमा पशुपती ज्वेलरी सञ्चालन गर्नथालेको ८ वर्ष भइसक्यो। उनले सुनचाँदीको व्यवसाय थाल्दाताका भन्दा अहिले मूल्य धेरै आकाशिएको छ।
सोही कारण उनलाई यो वर्ष व्यापार खासै फस्टाउलाजस्तो लागेको थिएन। हुन पनि विश्वमा अशान्ति बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ। नेपालमा त्यसको सिधा प्रभाव पर्दा असोज लागेयता दिनहुँ मूल्य बढिरहेको छ।
यी सबै देखेका उनलाई व्यापार नफस्टाउने लाग्नु स्वाभाविक थियो। आइतबार मात्रै सुनको मूल्य प्रतितोला २ लाख ५३ हजारमा पुगिसकेको छ। यो त अझ घटेको हो। शुक्रबार २ लाख ५८ हजार प्रतितोला मूल्यमा कारोबार भएको थियो।
यसरी गएको १३ दिनमा नै तोलामा ३४ हजारसम्मले बढेको मूल्यका कारण कठायतलाई मात्रै नभई अन्य व्यवसायी पनि अपेक्षित बिक्री हुने नहुने संशयमा थिए।
एकातिर विश्व मूल्यको प्रभाव, अर्कोतिर नेपालमै बढिरहेको अशान्तिको वातावरण। भदौमा भएको जेनजी प्रदर्शन र त्यसले सिर्जना गरेको व्यावसायिक अन्योलले समग्र व्यवसायीहरुलाई निराश बनाइरहेको थियो। चर्को मूल्यवृद्धिका कारण उपभोक्ता पनि आकर्षित हुन सकिरहेका थिएनन्।
तर शाहले सोचेजस्तो देखिएन। तिहार सुरु भइसक्दा धनतेरसको दिन नै सोचेभन्दा बढी नै ग्राहक सुन किन्न आए।
‘यो खालको व्यापार हुन्छ भन्ने सोचिएको थिएन’, उनले स्वीकारे, ‘मूल्य बढ्दा पनि ग्राहकको कमी भएन।’
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन पराजुली धनतेरसको दिन मात्रै ६० देखि ७० किलोग्रामसम्म सुन बिक्री भएको बताउँछन्।
महासंघले देशभरका सदस्य सुनचाँदी व्यवसायीहरुबाट लिएको तथ्यांकअनुसार सो एक दिनमात्रै ६० देखि ७० किलो सुन र १२ सयदेखि १५ सय किलोसम्म चाँदी बिक्री भएको अध्यक्ष पराजुलीले बताए।
‘हामीले महासंघको नगर संघ अध्यक्षहरुसँग बुझ्दा एकै दिन करिब ६० देखि ७० किलोसम्मको सुन र १५ सयसम्म चाँदी बिक्री भएको पायौँ’, उनले थपे।
उनको तथ्यांकलाई आधार मान्दा धनतेरसको दिन मात्रै नेपालीहरुले करिब १ अर्ब ५४ करोड ८२ लाखबराबरको ६ हजार १ तोला अर्थात् ७० किलो सुन किनेका हुन्।
त्यसैगरी सो दिन मात्रै १ लाख २८ हजार ६ सय २ तोला अर्थात् १५ सय किलोग्राम चाँदी ४३ करोड ८ लाख रुपैयाँमा किनेका हुन्। यो दिन प्रतितोला ३ हजार ३५० रुपैयाँ मूल्य थियो।
समग्रमा नेपालीले धनतेरसमा मात्रै करिब १ अर्ब ९७ करोडबराबरको सुनचाँदी किनेको अनुमानित तथ्यांक छ।
सुन महंगिए पनि ग्राहकको भीडले अहिले पनि काठमाडौंको न्युरोड, विशालबजार, बानेश्वर, कोटेश्वरलगायतका भरिभराउ छन्।
व्यवसायी जे जे ज्वेलर्स न्युरोडका सञ्चालक तथा महासंघका चौथो उपाध्यक्ष पवन सोमानी ग्राहकहरु गहनाभन्दा धेरै क्वाइन (सिक्का)प्रति आकर्षित हुन थालेको बताउँछन्।
‘सुनको मूल्य धमाधम बढ्न थालेपछि हामीकहाँ गहनाभन्दा धेरै क्वाइन किन्न आउने बढेका छन्’, उनले भने।
इजरायल–प्यालेस्टाइन, युक्रेन–रसियाको युद्धसँगै अफगानिस्तान र पाकिस्तानबीच पनि युद्ध चर्किनु र अमेरिका र भारतबीचको भन्सार शुल्क विवादका कारण पनि ग्राहकको सुनप्रतिको धारण परिवर्तन हुन थालेको उनको बुझाइ छ।
उनले पछिल्लो समय सुनको मूल्य थप बढ्ने अनुमानसहित ग्राहकहरुले गहनाका लागिभन्दा धेरै लगानीका लागि सुनको क्वाइनहरु किन्न थालेको बताए।
उनले दैनिकजसो ३५ किलोसम्म सुनचाँदी बिक्री भए पनि धनतेरसको दिन भने क्वाइन किन्ने बढ्दा ७० किलोसम्म बिक्री भएको हुनसक्ने बताए।
त्यसो त अहिले बढिरहेको सुन र चाँदीको मूल्यलाई आधार मान्दै विभिन्न अनुमानहरु सामाजिक सञ्जालमा फैलिन थालेका छन्।
‘सुनको मूल्य बढेर तोलाकै ३ लाखसम्म पुग्ने तथा चाँदीको मूल्य पनि बढ्ने सूचना फैलिरहेका छन्। यसले ग्राहकमा सुनसँगै चादीमा पनि आकर्षण बढाउन पुगेको हो’, सञ्चालक शाहले भने, ‘चाँदीको मूल्य बढ्छ भन्ने हल्लाले पनि अहिले चाँदीका गरगहना तथा क्वाइनहरु किन्नेहरु धेरै छन्।’
शनिबार मात्रै १५ किलोसम्मको चाँदी बिक्री भएको व्यवसायीहरुसँग अनुमानित तथ्यांक छ।
व्यवसायीहरुका अनुसार अहिले न्युरोड तथा विशालबजार क्षेत्रमा मूल्य कति बढ्न सक्छ भन्दै सोध्न आउने ग्राहक पनि बढ्न थालेका छन्।
सामाजिक सञ्जालहरुमा मूल्य थप बढ्ने हल्लाका बीच ग्राहकहरुले सुन र चाँदीमा लगानी बढाउन थालेपछि सुस्ताएको सुनको बजारलाई पुनः चलायमान बनाएको हो।
सोमानी अन्य दिनहरुमा खासै बिक्री नभए पनि धनतेरसको दिन सुनचाँदी किन्नुपर्छ भन्ने मान्यताले सो दिन भने ग्राहक थामिनसक्नु गरी बढेको बताउँछन्।

