काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा संस्था प्रभावकारी हिसाबले लागिरहेको बताएका छन् ।
कर्पोरेशनले आफूलाई दैनिक जीवनमा आवश्यक वस्तुको आपूर्तिमा मात्र सीमितमा नगरी कृषि, उद्याे, निर्माण जस्ता क्षेत्रमा पनि सकरात्मक भूमिका खेल्दै आएको उनको भनाइ छ ।
काठमाडौंको सोल्टी होटेलमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सरकारको जनताप्रतिको उत्तरदायित्व पूरा गर्ने काममा कर्पोरेशनले सहयोगी भूमिका निर्वाह गर्दै जाने विश्वास दिलाए ।
‘नेपालको अर्थतन्त्रको विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने कुरामा हामी निरन्तर क्रियाशील रहेका छौं । नेपाल सरकारको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ लाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उद्योगबाट उत्पादित इन्डक्शन एवम् सोमा प्रयोग हुने कूकवियरहरूसमेत बिक्री वितरण गर्दै आएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैर–अनुदानिक मल आयात गरी किसानलाई उपलब्ध गराइँदै आएको छ । उत्पादन र बिक्री–वितरणको क्षेत्रमा नुन, चिनी, मैदा, पिठो, चामल, तेल, दाल लगायतका अतिरिक्त खाना पकाउने ग्यास, प्रेसहरूका लागि कागज आदि वस्तुसमेत बिक्री–वितरण गरिँदै आएको छ ।’

