आगामी आर्थिक बर्षको बजेट निर्माणमा लागेको सरकारले नुन विक्री वितरणको जिम्मा साल्ट ट्रेडिङलाई दिन लागेको चर्चाकाबीच त्यसो नगर्न सरोकारवालाहरुले सचेत पारेका छन । उनीहरुले साल्ट टे«डिङले अत्यावश्यक वस्तु नूनको विक्रि वितरण अत्यान्तै प्रभावकारी हिसाबले गरेको भन्दै उसको जिम्मेवारीलाई आँच आउने गरी कुनै काम नगर्न सरकारलाई भनेका हुन ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पाेरेसनको संयुक्त आयोजनामा पत्रकारसँग उपभोक्ता सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्व वाणिज्य सचिव पुरुषोक्तम ओझाले निजी क्षेत्रको एकाधिकार सबैतिर गराइए त्यसको मारमा उपभोक्ता पर्ने बताए । उनले नुन बितरण साल्ट टे«डिङले प्रभावकारी रुपमा कम गरिरहेको बताए ।
‘निजी क्षेत्रको एकाधिकार भएमा उपभोक्ता मारमा पर्छन । त्यसैले स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ । कार्टेलीङको कारण उपभोक्तालाई मारमा पर्न नदिन यस्ता संस्थानहरुको स्थापना भएको हो । साल्ट ट्रेडिङले जसरी काम गरेको छ, त्यो मोडालिटि ठिक छ । निजी क्षेत्रको स्वामित्व यसमा बढी हुँदा निर्णयहरू चाँडो भई काम गर्न सहज हुन्छ,’ उनले बताए । सुपथ मूल्यको पसल सञ्चालनका कारण जनतालाई सहज भएपनि सरकारले त्यसको रकम ‘रिफन्ड’ नगरेको बताउँदै उनले त्यसको समाधान गर्न उनले जोड दिए ।
यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नुनको गुणस्तरमा समस्या भए उजुरी गर्नुपर्ने बताए । ‘नुनमा आयोडिनको मात्रा धेरै भएको भन्ने कुरा बजारमा सुनिन्छ । यदि, त्यस्तो समस्या छ भने उजुरी गर्नुपर्छ । अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘यत्तिकै अफवाह फैलाउन हुन्छ । यद्यपि, उपभोक्ताको सुरक्षामा गम्भीर हुनुपर्छ ।’
स्वास्थ्य सेवा विभागका सिनियर पब्लीक हेल्थ अफिसर दीपक झाले विदेशी अनुदान रोकिँदा नुनमा आयोडिनको मात्राबारे अनुसन्धान कार्य रोकिएको बताए । नुनमा आयोडिनको मात्राबारे वास्तविक अवस्था थाहा पाउन अध्ययन नै गर्नुपर्ने भएकाले अहिले यसमा केही भन्न नसकिने उनको भनाइ छ । यद्यपि, यसमा आफ्नो निकायको ध्यान पुगेको उनको भनाइ छ ।
यस्तै, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरद विक्रम राणाले पनि उपभोक्ता सुरक्षामा गम्भीर हुनुपर्ने बताए । ‘हामी निर्यातमा केन्द्रित निकाय हौँ । यद्यपि, उपभोक्ता सुरक्षामा हामी पनि गम्भीर छौँ,’ उनले भने, ‘बाहिर उपभोक्ता सुरक्षाका सवालमा मृत्यु दण्डसम्मका सजाय हुन्छन । नेपालमा पनि उपभोक्ता सुरक्षाको सवालमा उपयुक्त कानुन ल्याउन आवश्यक छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र आयल निगमसँग भविष्यमा सहकार्य गर्न सकिने बताउँदै उनले अव्यवस्थित एवंम अस्वस्थ बजार प्रतिस्पर्धालाई कम गर्न साल्ट ट्रेडिङको स्थापना भएको उनले बत्ताइन । उनले आजका दिनसम्म पनि साल्ट ट्रेडिङ उपभोक्ता सुरक्षा र उपभोक्ता अधिकारका विषयमा कहिँकतै नचुकेको बताइन ।
साल्ट ट्रेडिङले गहुँको बिउ उत्पादन, रासायनिक मल आयात र विक्री वितरण, घर दुर्गम जिल्लामा भूकम्प प्रतिरोधी घर निर्माण, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रसँग सहकार्यकारी गरी औषधिजन्य जडीबुटीको उत्पादन र बिक्री वितरण गरेको उनले जानकारी गराइन । साल्ट ट्रेडिङले जनक शिक्षा सामाग्रीलाई समयमा नै पुस्तक उपलब्ध गराउँदा उसले समयमै दुर्गम क्षेत्रमा शैक्षिक सामग्री पु¥याउन सकेको उनले बताइन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले साल्ट ट्रेडिङले नुनमा विक्रि वितरणमा अत्यान्तै प्रभावकारी हिसाबले काम गरेको बताउनुभयो । उहाँले साल्टले गरेका काममा पनि विभिन्न समयमा प्रश्नहरू उठ्ने गरेको बताउँदै फ्री इकोनोमीमा यस्ता प्रकारका मुद्दा उठ्नु स्वाभाविक भएको बताए । अहिले विभागले एमआरपि लागु गर्ने गरी काम गरिरहेको उनको भनाइ छ ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका डेपुटी प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङको विगत, वर्तमान र भविष्यबारे कार्यपत्र कार्यपत्र प्रस्तुति दिदैं गर्भवती, वयस्क, सुत्केरी लगायतका लागि छुट्टा छुट्टै नुन ल्याउने विषयमा सरकारले नै अग्रसरता देखाउनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नुन विक्री वितरणको जिम्मा साल्ट ट्रेडिङलाई दिइएको जिम्मेवारी आगामी दिनमा निजी क्षेत्रलाई दिइने भन्ने बारेमा फैलिएको अफवाहका पछि नलाग्न पनि उनले आग्रह गरे । यद्यपि, साल्ट ट्रेडिङको व्यवसायीकता र विविधीकरणको पाटोमा भने हेरविचार गर्न सकिने उनले बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले पनि उपभोक्ता सुरक्षामा जोड दिदै उपभोक्ता सुरक्षाका विषयमा उठेका अन्योलता चिनुपर्ने बताए । यो केवल उपभोक्ताको मात्रै विषय नभएर उत्पादकसँगपनि जोडिएको विषय भएको उनको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसनले उत्पादक र उपभोक्ताको बिचमा मध्यस्थकर्ताको रूपमा पुलको रूपमा जिम्मेवारी पूर्वक काम गरेको उनले बताए ।
सार्वजनिक संस्थान प्रति जनताको विश्वास घट्दै गएको समयमा साल्ट ट्रेडिङले उक्त विश्वास जित्न सफल भएको पनि उनले बताए । थोरै कर्मचारीका बाबजुतपनि साल्ट ट्रेडिङले गुणस्तरीय बस्तु तथा सेवाको विक्री वितरणमा थुप्रै चुनौतीका बाबजुद पनि अघि बढाएकोमा उनले प्रशंसा समेत गरे ।
साल्ट ट्रेडिङले आयल निगमसँगको सहकार्यमा एलपि ग्याँस विक्री गर्दै आएको विषय उजागर गर्दै उनले अहिले एउटा मात्र प्लान्टबाट ग्याँस विक्री गरिरहेकोले आगामी दिनमा हरेक प्रदेशमा एउटा एउटा प्लान्ट सकेमा ग्याँसको अभाव भएको समयमा निगमलाई पनि सहज हुने बताए । साथै उनले पेट्रोलमा इथानोल मिसाउने काम समेत अन्तिम चरणमा पुगेको उनले बताए ।
यस्तै, नेपाल आर्थिक पत्रकार संघकी अध्यक्ष मेनुका कार्कीले अत्यावश्यक वस्तुको विक्री वितरणमा साल्ट ट्रेडिङले गर्दै आएको व्यवसायीक कुशलताको लागि कृतज्ञता व्यक्त गर्दै बजार मूल्य नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन ।

