बजेट खर्च गर्न सरकार असफल

देशमा दुई तिहाई नजिकको बलियो सरकार रहे पनि बजेट कार्यान्वयन भने फितलो देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएका थिए । बजेट कार्यान्वयन गर्न नपाउँदै उनको सरकार बहिर्गमनमा पर्‍यो ।

बजेट कार्यान्वयनको अघिल्लो दिन गत असार ३१ गते संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, जसपा, लोसपासहितको समर्थनमा दोस्रोपटक एमाले अध्यक्ष समेत रहेका केपी ओली प्रधानमन्त्री बने । र बजेट खर्च गर्ने जिम्मेवारी एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे काँधमा आयो । उनलाई यो वर्ष पनि विगतका वर्ष झै बजेट खर्च गर्न नै सकस परिरहेको छ ।

चालु आव सकिन अब २ महिना मात्रै समय बाँकी छ । याे बजेट खर्च ५९ प्रतिशत मात्रै छ । अझै ४० प्रतिशत खर्च गर्नुपर्ने चुनाैती सरकारलाई छ ।

प्रतिनिधि सभाको दुईवटा प्रमुख दल काँग्रेस र एमालेका सांसदको समर्थनमा शक्तिशाली सरकारलाई बजेट कार्यान्वयनको अविभारा छ । तर, शक्तिशाली गठबन्धन सरकार बजेट कार्यान्वयनमा नराम्रोसँग चुकेको छ । सरकारी आयव्यायको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बजेट कार्यान्वयनको वैशाख २१ सम्ममा कुल १८ खर्ब ६० अर्बको बजेटमा सरकारले ११ खर्ब १० अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । बजेट कार्यान्वयनको अब साढे २ महिना मात्रै बाँकी छ । कुल बजेट पुरा खर्च गर्न अझै सरकारले यो अवधीमा ४० प्रतिशत अर्थात ७ खर्ब ५० अर्ब रुपैयाँ खर्चिनुपर्छ ।

चालु शीर्षकमा ११ खर्ब ४० अर्बको बजेट ल्याएकोमा ७ खर्ब ३३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न गठबन्धन सरकार सफल भएको छ भने पुँजीगततर्फको ठूलो बजेट खर्च गर्न गठबन्धन सरकार पूरा असफल भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब रुपैयाँको बजेट ल्याइएकोमा बल्लबल्ल सरकारले वैशाख २१ सम्ममा १ खर्ब १२ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । जनताले प्रत्यक्ष अनुभुति गर्ने विकास निर्माणका काम गर्न सरकार पूर्णरुपमा असफल बनेको सरकारी तथ्यले नै प्रष्ट पारेको छ ।

त्यसो त, यो बजेट खर्च गर्न नसक्ने भन्दै सरकारले अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झन्डै डेढ खर्ब बजेटको आकार नै घटाएका थिए । घटेको बजेट खर्चको आकारअनुसार पनि खर्च गर्न सरकारी अधिकारीहरु चुकिरहेको तथ्यले प्रष्ट पारेको छ ।

अर्थशास्त्री केशव आचार्य खर्च प्रणाली जटिल रहेको बताउँछन् । उनका अनुसार स्वीकृत भएर विनियोजन भइसक्यो तर बीचमा आएर बजेटको आकार घटाउँदै खर्च गर्न रोक्न लगाइन्छ, यो गलत छ ।

उनले भने, ‘बजेट खर्च गर्ने प्रणाली एकदमै जटिल छ । बजेट स्वीकृत भएर विनियोजन भइसक्यो तर बीचमा आएर बजेटको आकार घटाउँदै खर्च गर्न रोक्न लगाइनु गलत हो । बजेट छुट्याइँदा अर्थ मन्त्रालयले सही आयोजनाहरूको छनोट गरेर छुट्याउनुपर्छ । बजेट कार्यान्वयन गर्ने ठाउँमा रहेकाले बजेट निर्माण प्रक्रिया र कार्यान्वयन प्रक्रियामा उनीहरुको भनाई, आफ्नो उपस्थिति, स्वामित्व देखिँदैन । पहिलादेखि रहेको त्यस्तो प्रवृत्ति अहिलेपनि देखिँदै आएको छ। अहिलेको बजेट निर्माण प्रक्रिया ठिक छैन ।’ उनका अनुसार बजेट कार्यान्वयन प्रक्रिया चौपट रहेकाले यसको प्रक्रियागत सुधारको खाँचो छ । सरकारले सुधारेर लैजानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारले तत्काल निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्छ: इप्पान अध्यक्ष डाँगी

नेपालमा सबैभन्दा धेरै बीवाईडी गाडी भित्रियाे, अरू कुन कुन ब्रान्डका कति भित्रिए ?

स्थानीयबासीलाई रु. १०० मै आईपीओ दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री गर्ने प्रस्तावको विरोध

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

छुटाउनुभयो कि ?