बाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पु-याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गर्नुभएको छ ।

मन्त्री खड्काले आईतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिनुभएको हो । बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रुपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनःनिर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युत्को उपलब्धता र फूल खेल्न लागेको खेतीलाई सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्नेछ, यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै प्रदेश लाग्नुहोस्, केन्द्र सरकारबाट हुने सहयोग तपाईंहरुलाई हुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने बताउनुभयो । खर्च गर्न नसकेको बजेटलाई रकमान्तरण गरेर आयोजना सम्पन्न गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुराना आयोजना पुनः निर्माण र सकिन लागेका आयोजनालाई सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले भर्खरै विपद् व्यवस्थापनका लागि रु पाँच अर्ब बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्यालाई समाधान गर्न सरकार लाग्ने बताउनुभयो ।

बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एकराज कार्कीले यही असोज १० देखि १२ गतेसम्म आएको बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा रु ९७ करोड ६४ लाख क्षति पु¥याएको बताउनुभयो । मधेस प्रदेशका मन्त्री शेषनारायण यादवले ठूला नदीमा आएको बाढीका कारण मधेस प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु ७४ करोड ९५ लाखको क्षति पुगेको बताउनुभयो ।

बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढीपहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु एक अर्ब ९७ करोड क्षति पुगेको बताउनुभयो । गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले तीन दिनको वर्षाले आएको बाढीपहिरोले गण्डकी प्रदेशको सिँचाइ र तटबन्धनतर्फ रु २३ करोड ६८ लाखको क्षति पुगेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढीपहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा रु ४४ करोड ६६ लाखको क्षति पुगेको बताउनुभयो । यस्तै, कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यस वर्ष कर्णालीभित्र बाढीपहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा रु ३३ करोड १३ लाख बराबरको क्षति पुगेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण रु ४७ करोडको क्षति पुगेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?