छविलाल जोशीमाथि संगठित अपराधमा अनुसन्धान सुरु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अलिकति डरैडरमा दिनचर्या बिताउन थालेका छन् । उनलेे आफूलाई फसाउन खोजेको अभिव्यक्ति नै सार्वजनिक गरेका छन् ।
‘कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोशिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस्’, फेसबुक लाइभ गर्दै लामिछानेले भने ।
यद्यपि गोर्खा मिडियामा आफू रहँदा आएको रकमको जिम्मेवारी लिने बताए । तर सहकारीको रकम अपचलनमा भने आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।
सहकारी बचत रकम छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन अनुसार कारबाही भोग्न तयार रहेको बताए ।
‘.. आफू जिम्मेवार रहेको बेला सहकारीबाट पैसा आएको छ भने त्यसको जिम्मेवारी लिनुपर्छ, त्यसको कानुनी कारबाहीको सिफारिस (समितिले) समेत गरेको छ’ उनले भने, ‘यो कुरालाई मैले बंग्याउन मिल्दैन । अगाडिको कुरालाई विपक्षी दलका नेताहरुले, विशेषगरी कांग्रेसका नेताहरुले, एमालेका नेताहरुले बंग्याउन मिल्दैन ।’
सहकारीको बचत रकम ठगीको विषयमा आफू पहिल्यै नै संसदीय समिति गठन गर्ने पक्षमा रहेको लामिछाने बताए । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुले समिति गठन गर्न आवश्यक नरहेको बताउँदा ढिलाई भएको उनको दाबी छ ।
यद्यपि संसदीय समितिको प्रतिवेदन आफूले भनेजस्तै आएको रविको दाबी छ । ‘सहकारीको रकम ल्याउन रवि लामिछानेको संलग्नता छैन भन्ने प्रष्ट बताएको छ’ फेसबुक लाइभमा लामिछानेले भने, ‘तर आफू कार्यरत रहेको बेला आएको पैसा भएकाले त्यसको चाहिँ कानुनी कारबाहीको भागीदार हुनुपर्छ है भनेको कुरालाई हामीले नकार्न मिल्दैन ।’
गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक रहँदाको अवधिमा भएको सहकारी बचत रकम अपचलनको जिम्मेवारी लिन तयार भएको लामिछानेले पहिलोपटक बताएका हुन् ।
यसअघि गत ३१ भदौमा प्रतिनिधि सभामा छानबिन समितिको प्रतिवेदन पेश हुँदा र ४ असोजमा प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिँदा भने लामिछानेले आफूले क्लिन चिट पाएको प्रतिक्रिया दिएका थिए । रास्वपाका अरु नेताहरुले त रवि लामिछाने निर्दोष सावित भएको तर्क गरेका थिए ।

