अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतमा राखे अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ।
सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई पाँच दिनको म्याद दिएको हो।
जोशीलाई प्रहरीले आइतबार काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याएको थियो। कास्की प्रहरीले उनलाई सोमबार मध्याह्न जिल्ला अदालतमा उपस्थित गराएको थियो।
अदालतले जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए।
पोखरा महानगरपालिका–४ नालाकोमुखमा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्थाको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
गोर्खा मिडियाका संस्थापक/सेयर होल्डर तथा सञ्चालक रहेका जोशी भागी विदेश जान लागेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको कास्की प्रहरीको भनाइ छ। सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की प्रहरीले पूरक अनुसन्धान गरिरहेको छ।
सहकारी संस्थाको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सहकारीको बचत अपचलनमा जोशीसहितका व्यक्तिलाई कारबाही गर्न सिफारिस गरिएको छ।

