गतसाता भारत भ्रमणबाट परराष्ट्रमन्त्री डा. आरजु राणा फर्किएलगत्तै ऊर्जा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पञ्चेश्वर परियोजना कार्यान्वयनमा लैजानेगरी भारतीय पक्षसँग सघन छलफलमा जुटेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री एस जयशंकरसँगको गम्भीर छलफलपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेगरी दुवैपक्ष छलफलमा जुटेका हुन्।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार केही साताभित्रै सकारात्मक सन्देश दिनेगरी प्रक्रिया अगाडि बढाइएको छ।
पञ्चेश्वर पहिचान भएको ६८ वर्षपछि ‘ब्रेक थ्रु’ हुने चरणमा प्रवेश गरेको परराष्ट्र र ऊर्जाका अधिकारीहरूले जनाएका छन्।
हस्ताक्षर हुन बाँकी सम्झौतामा अहिले प्राविधिकहरूले अन्तिम रुप दिने तयारी गरेका छन्। त्यसलगत्तै एक महिनाभित्र विवादहरु सम्बोधन गरेर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कार्यान्वयनको चरणमा लैजाने तयारी गरिएको छ।
अहिले प्राविधिक र भाषागत विषय लेख्ने काम भइरहेको छ। हस्ताक्षरपछि मात्रै सार्वजनिक गरेर कार्यान्वयनमा लैजान नेपाल र भारत दुवैपक्ष सहमत भएका छन्।
रणनीतिक महत्वको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भारत र नेपालका दुवै पक्ष कार्यन्वयनमा लैजानेगरी प्रक्रिया अगाडि बढेको हो। ६८ वर्षदेखिको आयोजनामा पटक-पटकको वार्तापछि अहिले आएर बल्ल नेपाल र भारतबीच सहमति भइसकेको परराष्ट्रका अधिकारीहरूले जनाएका छन्।

