रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिए । नगरपालिकाको रोजगार शाखाले उनलाई सात लाख क्षतिपूति दियो ।

सन्धिखर्क नगरपालिका–७ का मधुकुमार केसीको २०८० पुस ८ गते मृत्यु भयो । उनकी श्रीमती निमकला केसीले पनि क्षतिपूर्ति माग गरी सन्धिखर्क नगरपालिकामा निवेदन दिइन् र उनले पनि सात लाख प्राप्त गरिन् । अर्घाखाँचीका ५५ हजारभन्दा बढी मानिस श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका छन् । युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा जाने युवायुवतीको संख्या यसमा समावेश गरिएको छैन ।

गैरकानुनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरुको तथ्यांक कतै भेटिँदैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासनका लुम्बिनी प्रदेश संयोजक जियाउल हकका अनुसार पछिल्लो तीन वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएको तीमध्ये नौजनाको यसै वर्ष मृत्यु भएको हो । ७४ जना गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका छन् ।

अर्घाखाँचीबाट आर्थिक वर्ष २०७९/८० मा छ सय ३३ महिलासहित नौ हजार पाँच सय २६ जना रोजगारीका लागी विदेश गएका थिए । चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म आठ हजार एक सय ७५ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेको सुरक्षित आप्रवासनका अर्घाखाँची शाखाका सहजकता अम्बिका बेल्वासेले बताइन् । अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारीसम्बन्धी ठगीका १० वटा उजुरी परेका छन् ।

यीमध्ये चार उजुरीको छिनोफानो भएको छभने छवटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरुबाट १० लाख ४६ हजार पीडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । आव २०६३/६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार सात सय आठजनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

गत आव २०७९/८० मा सात लाख ७१ हजार तीन सय २७ जना रोजगारीका लागि विदेश गएका थिए । यो संख्या गएको १७ वर्षयताको उच्च हो । चालु आवको ज्येष्ठ मसान्तसम्म छ लाख नौ हजार छ सय ९९ जना कामका लागि विदेश गएका थिए । अहिलेसम्म विदेश जानेहरुमध्ये ९३ प्रतिशत मलेसिया तथा खाडी मुलुकमा गएका छन्भने बाँकी सात प्रतिशत जापान, बहराइन, कोरिया, क्रोएसियालगायत देशमा छन् ।

विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको छ । यसको १.९ प्रतिशत रकम बचत गरिएको छ । नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले ‘रेमिट्यान्स’ प्राप्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?