सेनाबाट सञ्चालित पेट्रोल पम्प : २४ घण्टा नै सञ्चालन माग

राजधानीमा यातायातका साधन चलाउने युवाहरुले नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरु २४ घण्टा नै सञ्चालन गर्न माग गरेका छन् ।

राजधानीको कोटेश्वरका बलराम प्यासीले शुद्धता र तोकिएको मात्रामा तलमाथि नहुने भएकोले आफू सकेसम्म सेनाको पेट्रोल पम्पबाट नै पेट्रोल हाल्ने गरेको बताउँछन् । उनी सेनाका पेट्रोल पम्पले रात्रीकालीन सेवा नदिँदा मर्कामा परेको भन्दै २४ घण्टा नै पेट्राल पम्प सञ्चालन गर्न माग गर्छन् ।

उनीजस्तै पाँचथरबाट आएर काठमाडौंमा व्यवसाय गर्ने मेदनी खनाल पनि शुद्धताका कारण सेनाले सञ्चालन गरेका पेट्रोल पम्पबाटमात्र पेट्रोल हाल्ने गरेको बताउँदै रात्रीकालीन सेवा दिन आग्रह गर्छन् ।

सेना, प्रहरी, सशस्त्रसमेतले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थमा मिसावट नहुने र तोकिएकै मात्रामा रकम तिरेपछि पाइने भएकोले अधिकांस सवारी चालकहरु त्यस्ता पेट्रोल पम्पमा मात्र पेट्रोल र डिजेल हाल्ने गर्छन् ।

नेपाली सेनाले अहिलेसम्म सैनिक मुख्यालय भद्रकाली र ललितपुरको लगनखेलमा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । अब तत्कालै काठमाडौंको सितापाइलामा पनि पेट्रोल पम्प सञ्चालन तयारी छ । ‘सितापाइलामा तत्कालै अर्काे पेट्रोल पम्प सञ्चालनमा आउँछ ।’– सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने ।

सैनिक मुख्यालयका अनुसार सेनाले राजधानी बाहिर पनि पेट्रोल पम्प चलाएको छ । तनहुँको खैरेनीटार, रुपन्देहीको बुटवल, सुनसरीको इटहरीमा पेट्रोल पम्प छन् भने अब सुदूर र कर्णाली प्रदेशमा पम्प स्थापना गर्ने तयारी रहेको प्रवक्ता सहायक रथी केसीले जानकारी दिए ।

काठमाडौंमा सैनिकका पेट्रोल पम्प बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुल्छन् । शनिबार र विदाका दिन भने बिहान ८ बजेदेखि १२ बजेसम्म खुल्छन् । बुटबलमा विहान ६ देखि ९ बजे र इटहरीमा बिहान साढे ५ बजेबाट राति ९ बजेसम्म खुल्ने गरेका छन् । यस्तै खैरेनीटारमा बिहान साढे ६ बजेबाट राती साढे ८ बजेसम्म खुल्ने गरेका छन् ।

काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रमा २४ घण्टा नै खुला राख्ने निर्णय गरेर कार्यान्वयनमा गइसकेको अवस्थामा राति पनि पेट्रोल र डिजेल आवश्यक पर्ने भइसकेको छ । यसले पनि रात्रिकालीन पेट्रोल पम्प खुला राख्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?