
- नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणका कारण चिनियाँ ब्रान्ड बीवाईडी गत आर्थिक वर्षको सबैभन्दा धेरै आयात हुने गाडी बनेको छ।
- कुल १५ हजार ८०६ प्यासेन्जर गाडीको आयातमा बीवाईडीले करिब २७ प्रतिशत हिस्सा ओगट्दै ४ हजार २७० युनिट भित्र्याएको छ।
- बजारमा चिनियाँ ईभीको प्रभाव बढ्दा हुन्डाई, टाटा र सुजुकी जस्ता स्थापित ब्रान्डहरू पछि पर्दै गएका छन्।
नेपालमा विद्युतीय सवारी (ईभी) को लोकप्रियता बढ्दै जाँदा चिनियाँ ब्रान्ड बीवाईडी (BYD) गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै आयात हुने प्यासेन्जर गाडी ब्रान्ड बनेको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालमा कार, जिप र भ्यान गरी १५ हजार ८०६ युनिट प्यासेन्जर सवारी आयात भएकोमा बीवाईडीका मात्रै ४ हजार २७० युनिट भित्रिएका छन्। बीवाईडीको यो हिस्सा कुल आयातको करिब २७ प्रतिशत हो।
बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक ले सबैभन्दा धेरै एटो २ र एटो १ मोडल आयात गरेको छ। कम्पनीले गत वर्ष २ हजार २६४ युनिट एटो २, १ हजार २९९ युनिट एटो १, ४४६ युनिट सिलायोन र २५७ युनिट एटो ३ आयात गरेको छ। आधुनिक प्रविधि, राम्रो रेन्ज र प्रतिस्पर्धी मूल्यका कारण एटो सिरिज नेपाली ग्राहकको रोजाइमा परेको देखिएको छ।
आयातका आधारमा हुन्डाई दोस्रो स्थानमा रहेको छ। आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल ले गत आर्थिक वर्ष २ हजार ६०६ युनिट गाडी आयात गरेको छ। हुन्डाईका भेन्यु र क्रेटा जस्ता पेट्रोल मोडलको हिस्सा बढी रहेको छ भने ईभीको आयात तुलनात्मक रूपमा कम देखिएको छ।
लामो समयसम्म नेपाली बजारमा अग्रस्थानमा रहँदै आएको टाटा यसपटक तेस्रो स्थानमा झरेको छ। आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले गत वर्ष १ हजार ८८५ युनिट गाडी आयात गरेको छ। बजारमा चिनियाँ ईभीप्रति बढ्दो आकर्षणले टाटाको हिस्सा प्रभावित भएको देखिन्छ।
चौथो स्थानमा ओमोडा, जेको र आईकार रहेका छन्। एसपीजी अटोमोबाइल्स ले यी ब्रान्डका १ हजार २०८ युनिट गाडी आयात गरेको छ। यसमध्ये ५१४ युनिट आईकार, ४०१ युनिट जेको र २९३ युनिट ओमोडा रहेका छन्।
एक समय बिक्रीका आधारमा नेपाली बजारमा लगातार अग्रस्थानमा रहेको सुजुकी आयातका आधारमा पाँचौँ स्थानमा सीमित भएको छ। आधिकारिक वितरक सीजी होल्डिङ्स ले गत वर्ष १ हजार १०५ युनिट गाडी आयात गरेको छ, जसमा ५८५ युनिट ब्रेजा रहेका छन्। कम्पनीले हालै सार्वजनिक गरेको विद्युतीय ई-भिटारा पनि ५० युनिट आयात भएको छ।
डोङफेङ छैटौँ स्थानमा रहेको छ। एमएडब्लू वृद्धि ले ९३९ युनिट गाडी आयात गरेकोमा भिगो मोडलको हिस्सा ६८७ युनिट रहेको छ।
सातौँ स्थानमा रहेको चांगन का ८२७ युनिट गाडी आयात भएका छन्। यसमध्ये डिपल एस०५ को संख्या मात्रै ८२४ युनिट रहेको छ।
किया आठौँ स्थानमा रहेको छ। कन्टिनेन्टल ट्रेडिङ ले गत आर्थिक वर्ष ७७९ युनिट गाडी आयात गरेकोमा सोनेट मोडलको हिस्सा ४७३ युनिट छ।
त्यसैगरी एमजी २८७ युनिट आयातसहित नवौँ तथा महिन्द्रा २७९ युनिट आयातसहित दशौँ स्थानमा रहेका छन्।
विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण निरन्तर बढेसँगै नेपाली अटो बजारमा चिनियाँ ईभी ब्रान्डहरूको प्रभाव बलियो बन्दै गएको तथ्य पछिल्लो आयात तथ्यांकले देखाएको छ।

