अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार गर्न समिति बनाएको छ।
राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा मन्त्रालयले बजेट लेखन समिति गठन गरेको हो।
यसका सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल छन्।
समितिले आर्थिक वर्ष २०८३/०८४ को सरकारका वार्षिक नीति तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने कार्यादेश पाएको छ। त्यसैगरी समितिले नयाँ आवमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा आव २०८३/०८४ को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्नुपर्नेछ।

