देशभरका भन्सार एजेन्टहरू आन्दोलित बनेका छन् । भन्सार एजेन्ट महासंघ नेपालले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध गरेका हुन् ।
महासंघ अध्यक्ष प्राचिनकुमार थैवका अनुसार भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको छ ।
यस ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएकाले आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
भन्सार एजेन्टहरुको पेशा तथा व्यवसायगत हकहितका लागि भन्सार विभाग, अर्थ मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा ऐनमा समेटिनु पर्ने विषयहरूबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत मागहरू बेवास्ता गरिएको उनको भनाइ छ ।
भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिहरूलाई हतोत्साहित पार्ने खालको दण्ड जरिवानाका प्रावधानले एजेन्ट पेशा व्यवसायलाई प्रत्यक्ष असर पर्ने उनले बताए ।

