पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी

नेपालका पर्यटन उत्पादनको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायुसेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति गरेका छन्।

समझदारीपत्रअनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलनलगायत सबै प्रमुख प्रवर्द्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन्स’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ।

निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोग्रामसम्मका प्रवर्द्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। दुवै संस्थाले अन्तरराष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन्।

नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत सामग्री उत्पादनलाई पनि नयाँ रूपमा एकीकृत गरिने समझदारीपत्रमा उल्लेख छ। बोर्ड र निगम दुवैले आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने सहमतिसमेत गरेका छन्।

नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा खेलकुदमा संलग्न व्यक्तिहरु तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ।

यस सहकार्यका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ। दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नेछन्।

समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सहकार्यलाई नेपालको अन्तरराष्ट्रिय छवि तथा बजार पहुँच बिस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गरे।

उनले भने, ‘नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो। दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’ लाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्नेछ। विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ। यो प्रयास दिगो पर्यटन विकासका लागि महत्त्वपूर्ण हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?