बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम सुरु

बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्।

पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ।

सडकको शिलान्यासको क्रममा गर्दै प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको बताए। प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको बताए।

‘हिजोका गाउँका कच्ची सडक आज कालोपत्रे भएका छन्। हाम्रो देश हामी आफै बनाउँछौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह गरे।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए।

उनले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताए।

मन्त्री सिंहले आज ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गरे।

उनले बुटवल-नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्‍याउने गरी निर्माण गर्न आग्रह गरे।

गुणस्तरमा कुनै पनि कमजोरी नगरी लागत र समय नबढाई सडक निर्माण गर्न उनले आग्रह गरे।

‘कतिपय आयोजना समयमा बन्न नसक्दा खुसीभन्दा पीडा भइरहेको छ, यो आयोजनाले पीडा नभई खुसी दिनुपर्ने छ,’ उनले भने।

बुटवल नारायणगढ सडक सुरू गर्दा विभिन्न समस्या भए पनि यो आयोजनामा कुनै समस्या नरहेकोले समयमै सम्पन्न हुनेमा पौडेलले विश्वास व्यक्त गरे।

पौडेलले भौतिक पूर्वाधारको हिसाबले रूपन्देहीलाई मुलुकको अब्बल जिल्ला बनाउने र रूपन्देहीको विकास हेर्न जाउँ भन्नुपर्ने अवस्थामा पुर्याउने दाबी गरे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताए।

२०७५ सालदेखि बनिरहेको बुटवल–नारायणगढ सडकमा धुलो र हिलोको सास्ती छ। एकैपटक सबै सडक भत्काइएको र काम पनि ढिला भएपछि सरकारको कडा आलोचना भइरहेको छ।

स्थानीयले पनि बुटवल–नारायणगढ सडकमा भएको गल्तीबाट पाठ सिकेर यो सडकको काम अगाडि बढाउन आग्रह गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?